-विनयकुमार कसजू
कालु कौवाले आफूलाई निक्कै चलाख ठान्थ्यो । उसले बनको माझमा अग्लो रुखमा गुँड बनाएको थियो । त्यो रुखमा ढुकुर, चिबे, सारौँ, टोकटोकेजस्ता चराहरूले पनि गुँड बनाएका थिए । काले कौवाको गुँड सबैभन्दा माथि रुखको टुप्पामा थियो । कसैले गुँडमा भर्खर फुल पार्न थालेका थिए भने कसैले कोरल्दै थिए । काले कौवाको फुलबाट भने चल्लाहरू निस्किसकेका थिए ।
बनको नजिकै गाउँ थियो । गाउँमा मन्दिर पनि थियो । काले कौवा दिनदिनै मन्दिरमा जान्थ्यो । मन्दिरको पेटीमा लस्करै मूर्तिहरू र तुलसीको महिरो थियो । मानिसहरू मन्दिरमा जाँदा ती मूर्तिहरू र तुलसीको पनि पूजा गर्थे । उनीहरूले महिरोमा धुप बत्ती बालेर फलफूल, रोटी र मिठाई प्रसाद चढाउँथे ।
काले मन्दिरमा गएर प्रसाद खान पल्केको थियो । ऊ सबेरै मन्दिर जान्थ्यो । मन्दिरमा आउने भक्तहरूले कौवालाई देख्दा शुभशुभ बोल भन्थे । मानिसहरू कौवा करायो भने कुनै न कुनै समाचार आउँछ भन्ने ठान्थे । यसैले उनीहरूले शुभ समाचार आओस् भनेर कौवालाई त्यसो भन्ने गर्थे ।
तर कालेको ध्यान मानिसको भनाइमा भन्दा उनीहरूले चढाएको प्रसादमाथि पुग्थ्यो । उसले मानिसहरू अलि टाढा भएको बेलामा बेगले उडेर ठोँडले प्रसाद टिप्थ्यो र परखाल वा नजिकैको रुखमाथि बसेर खान्थ्यो । कहिलेकाहीँ उसले दुना बहुतामा राखेको प्रसाद भाँडैसँग उचालेर पनि लैजान्थ्यो । गुँडमा चल्ला निस्केपछि भने उसले मन्दिरमा भेटाएको प्रसाद गुँडमै लैजान थालेको थियो ।
एक दिन काले कौवा मन्दिरमा पुग्दा मानिसहरूको निक्कै भिड देख्यो । त्यो दिन मन्दिरको वरिपरि लाखबत्ती बालेको रहेछ । तुलसीको महिरो माथि पनि बहुतामा बत्ती बलिरहेको थियो । बहुतमा हलुवा प्रसाद देखेर काले लोभियो । आफ्ना चल्लाहरूलाई हलुवा ख्वाउन उसलाई मन लाग्यो । उसले भिडलाई बेवास्ता गरेर महिरोमाथि बसेर हलुवा टिप्न खोज्यो । तर उसको मुखमा थोरै हलुवा आयो । यसैले उसले हलुवाको बहुतालाई ठोँडले च्याँप्यो र गुँडतिर उड्यो ।
बत्ती बलिरहेको बहुता कौवाले लगेको देखेर मानिसहरू डराए । गाउँमा धेरै घर र गोठहरू खरले छाएका थिए । घर वा गोठको छानामाथि बसेर कौवाले प्रसाद खाँदा खरको छानामा आगो लाग्नसक्थ्यो । यसैले मानिसहरूले हाहा भन्दै कौवालाई केही परसम्म लखेटे । तर कौवा बनतिर लागेपछि उनीहरू फर्के ।
काले कौवा बहुता बोकेर सोझै बनतिर लाग्यो । हावाको बेगले गर्दा बहुताको बत्ती निभिसकेको थियो । तर त्यसमा आगोको फिलिंगो बाकी थियो । कालेले बहुता गुँडमा बिस्तारै बिसायो । चल्लाहरू भोकाएका थिए । तिनीहरूले मुख बाउँदै खानेकुरा माग्न थाले । कालेले हतारहतार तिनीहरूलाई हलुवा ख्वाउन थाल्यो ।
चल्लाहरूलाई हलुवा ख्वाउने सुरमा उसले बहुताको बत्तीको फिलिंगो गुँडमा खसेको चालै पाएन । उसको गुँड सुकेका घाँसपात र झिँजाहरूले बनेको थियो । फिँलिँगोले ती सुकेका घाँस र झिँजालाई टिप्यो । गुँडबाट धुवाँ निस्कन थालेपछि कालेकौवा आत्तियो । उसले का का गर्दै चिच्याउँदै वरपरका चराहरूसँग गुहार माग्न थाल्यो ।
त्यो रुख र वरिपरिका अरु रुखमा गुँड बनाएर बसेका चराहरू उडदै कौवालाई मदत गर्न आए । उनीहरू कौवाको गुँडमा आगो लागेको देखेर आत्तिए । आगो फैलियो भने त्यो रुखमा मात्रै होइन वरपरका रुखमा गुँड बनाएर बसेका चराहरूको फुल र चल्लाहरू पनि डढथे । यसैले सबै चराहरू आत्तिए । उनीहरू रुन कराउन थाले ।
त्यो रुखको फेँदको टोड्कामा न्याउरीमुसाको परिवार बस्थ्यो । चराहरूको हल्ला सुनेर न्याउरीमुसा बाहिर आयो । उसले रुखमाथि धुवाँ देख्यो । उसले कुरा बुझिहाल्यो । ऊ दगुर्दै गुण्टे हात्तीकहाँ पुग्यो । गुन्टे पोखरीमा खेल्दै थियो । उसले सुँडमा पानी भरेर आफ्नो जिउमाथि छम्किरहेको थियो । न्याउरीमुसाले गुन्टेलाई बनमा आगो लाग्नै आँटेको कुरा सुनायो र मदत माग्यो ।
बनमा आगो लाग्यो भने गुन्टेको परिवारको पनि ललहबिलह हुने थियो । बनमा आगो लाग्ने कुरा सुनेर ऊ पनि आत्तियो । उसले तुरुन्तै आफ्नो सुँडमा सकेसम्म धेरै पानी भर्यो र कौवाको गुँडतिर दगुर्यो ।
कौवा बस्ने रुखमा पुग्दा गुन्टे हात्तीले कौवाको गुँडमा आगो बलिरहेको र चल्लाहरू भुइँमा चीँ चीँ गरिरहेको देख्यो । उसले आफ्नो सुँड गुँडतिर फर्काएर सकेसम्म बल गरेर पानीको फोहोराले आगो निभाउन खोज्यो । उसको सुँडमा भएको सबै पानी रित्तिँदा पनि गुँडबाट धुवाँ आउन छाडेन । ऊ फेरि दगुर्दै पोखरीमा पुग्यो र सुँडमा पानी भरेर ल्यायो । यसरी धेरै पटक पानी ल्याउँदै उसले आगो निभायो ।
गुन्टे हात्तीले बनलाई आगोबाट जोगाएकोमा बनका चराहरूमात्रै होइन अरु जानवरहरूले पनि हात्तीको ठूलो गुन माने । उनीहरूले गुन्टेलाई फुलमाला लगाइदिए । गुन्टेलाई मन पर्ने उखु, केरा, मेवा आदि फलफूल उपहार दिए । गुन्टे पनि दंग पर्यो ।
सानेपा, २०६२ मंसिर २० गते ।