IT for Development (Articles in Nepali)
कम्प्युटरमा नेपाली र नेपालीमा कम्प्युटर
- विनयकुमार कसजू
कम्प्युटरको मनिटर, मेनु र सन्देशहरू देवनागरी
लिपिमा नेपाली भाषामा चल्ने वा देखिने नभएसम्म र नेपाली भाषामा दिएको
आदेशअनुसार कम्प्युटरले काम नगर्दासम्म अंग्रेजी नजानेका साक्षर नेपालीले
कम्प्युटरको उपयोग गर्ने सम्भावना छैन । नेपाली भाषामा कम्प्युटर चलाउने
प्रविधि सुरु भयो भने झण्डै आधा जनसंख्याको हाराहारीमा रहेका साक्षर
नेपालीहरू कम्प्युटर चलाउनसक्ने अवस्थामा पुग्नेछन् । सूचना प्रविधिको
उपयोगको दृष्टिले यो ठूलो क्रान्ति साबित हुनेछ ।
सूचना प्रविधिको उपयोग गनरीकन प्रजातन्त्र र
विकास प्रक्रियामा आमजनतालाई समावेश गर्न सकिँदैन भन्ने कुरा नेपालले
पनि अनुभव गरिसकेको छ र यसको विकासको लागि राज्यले संकल्प गरिसकेको
छ । तैपनि नेपालमा सूचना प्रविधि, खास गरी कम्प्युटर र इन्टरनेटमा,
आमजनताको पहुँच हुन सकेको छैन । यसको पछाडि आर्थिक तथा अन्य कारण त
छँदैछन् । तर सबैभन्दा बलियो कारण भाषाको समस्या नै हो । कम्प्युटरको
मनिटरमा नेपाली भाषा र देवनागरी लिपि लेख्न र पढन सकिने हुनु एउटा
प्रविधि हो भने नेपाली भाषामा कम्प्युटर चलाउनु अर्को प्रविधि हो जसको
लागि राष्ट्रिय प्रयास मात्रै पर्याप्त हुँदैन, अन्तरराष्ट्यि सहकार्यको
आवश्यकता हुन्छ ।
कम्प्युटरमा देवनागरी लिपिमा नेपाली भाषामा लेख्ने र देवनागरी लिपिमा
लेखिएका पाठ्य सामग्री कम्प्युटरको मनिटरमा देखिने प्रविधिको विकास
नेपालमा झण्डै पन्ध्र वर्षेखि भइरहेको छ । तर नेपाली भाषामा आदेश दिएर
कम्प्युटर चलाउने प्रणालीको विकास अझै पूर्णा रूपमा भइसकको छैन । कम्प्युटर
खोल्ने बित्तिकै मनिटरमा अंग्रेजी भाषाका मेनु, आदेश र सन्देशहरू देखिन्छन्
जसले गर्दा अंग्रेजी नबुझने मानिसहरूले कम्प्युटरको उपयोग खेल खेल्नु
र भिडियो हेर्नुबाहेक चाहिने काममा गर्न सकिरहेका छैनन् । फलस्वरूप
अहिले सयकडा एक भन्दा थोरै नेपालीले मात्रै कम्प्युटरको उपयोग गरिरहेका
छन् । नेपाली भाषामा कम्प्युटर चलाउने प्रविधि सुरु भयो भने झण्डै
आधा जनसंख्याको हाराहारीमा रहेका साक्षर नेपालीहरू कम्प्युटर चलाउनसक्ने
अवस्थामा पुग्नेछन् । सूचना प्रविधिको उपयोगको दृष्टिले यो ठूलो क्रान्ति
साबित हुनेछ ।
कम्प्युटरमा नेपाली
कम्प्युटरमा नेपाली भाषा, देवनागरी लिपिमा लेख्न
र पढन मिल्ने गराउनका लागि विगत डेढ दशकमा धेरै काम भएका छन् । पहिलो
काम हो नेपाली फन्टको विकास । अनलिमिटेड न्युमिडियाका अनुसार त्यसले
सन् १९९२ मा सवैभन्दा पहिले आईबीएम पर्सनल कम्प्युटरमा टाइप गर्न मिल्ने
ट्रु टाइप बनाएको थियो । त्यसअघि एप्पल कम्प्युटरमा मात्र नेपाली अक्षर
लेख्न पढ्नसकिन्थ्यो । अहिले अधिकांश कार्यालय र पत्रपत्रिकाहरूमा
चलनचल्तीमा रहेका कान्तिपुर, प्रीति, हिमाली, नवजीवनजस्ता फन्टहरू
ट्रु टाइप फन्ट हुन् । यी फन्टहरू टाइप गर्नका लागि की बोर्डमा एकरूपता
छैन । बेग्लाबेग्लै फन्टका अक्षर लेख्न फरकफरक की थिच्नुपर्छ । यी
फन्टमा टाइप गरिएका सामग्री इन्टरनेटमा राख्दा अनेकौँ समस्या आइलाग्छन्
। कतिपय अक्षरहरू, खास गरी संयुक्त अक्षरहरू र अंकहरू जस्ताको तस्तै
वेबसाइटमा देखिँदैनन् । यी फन्टहरूमा टाइप गरिएका शब्दहरू कम्प्युटरमा
वर्गीकरण (र्सर्टिङ), र प्रशोधन (प्रोसेसिङ) गर्न मिल्दैन ।
कम्प्युटरमा देखिने नेपाली भाषामा एक रूपता ल्याउन,
त्यसमा टाइप गरिएका शब्दहरूको आधारमा डेटा प्रशोधन र वर्गीकरण गर्न,
शब्दकोश बनाउन, नेपाली भाषामा इमेल इन्टरनेट लेख्न र हेर्न सकिने बनाउन
लिपिमा एकरूपता आउनुपर्छ । देवनागरी लिपि युनिकोडमा राखिएपछि अब संसारभरिका
विंडोज अपरेटङ सिस्टम भएका कम्प्युटरमा देवनागरी लिपि देख्न र पढनसकिने
भएको छ ।
युनिकोड भनेको विश्वभरिका सूचना प्रविधिसँग संलग्न
प्रमुख संस्था र कम्पनीहरूले स्वीकार गरेको संकेतन प्रणाली हो । यसको
व्यवस्थापन युनिकोड कन्सोर्टियमले गर्छ । यो प्रणाली अर्न्तर्गत विश्का
प्रमुख लिपि र संकेत चिन्हहरूलाई बेग्लाबेग्लै मौलिक अंक दिइएको छ
। यो प्रणालीभित्र देवनागरी लिपि प्रवेश गरिसकेको छ । फलस्वरूप युनिकोडको
आधारमा बनेको देवनागरी लिपिमा टाइप गरेको कुरा इन्टरनेट इमेल र संसारभरिका
कम्प्युटरमा एकै रूपमा देखिन्छ । नेपाली, हिन्दी, मराठी, संस्कृत,
कस्मिरी र कोंकणी भाषाहरू देवनागरी लिपिमा लेखिने हुनाले अब युनिकोडमा
लेखिएका ती भाषाका सामग्री इमेल र वेबसाइटमा हर्न, पढ्न सजिलो भएको
छ ।
मदन पुरस्कार पुस्तकालयले देवनागरीमा लेखिने
युनिकोडको दुई प्रकारको कीबोर्ड लेआउट तयार पारेको छ । एउटा कीबोर्डको
लेआउट परम्परागत अर्थात् हिन्दीको टाइपराइटरलाई केही परिमार्जित गरेर
बनाइएको छ भने अर्को कीबोर्ड उच्चारणको आधारमा अर्थात् फोनेटिक कीबोर्डको
बनेको छ । फोनेटिक कीबोर्ड बनाउने पहल अनलिमिटेड न्युमिडियाले गरेको
थियो । फोनेटिक कीबोर्डमा क अक्षर लेख्नका लागि कीबोर्डको के र ए की
थिच्नुुपर्छ भने ख लेख्न के, एच र ए थिच्नुपर्छ ।
देवनागरी लिपि युनिकोडमा भएपछि नेपाली भाषामा
युनिकोडमा लेख्नका लागि कीबोर्डको मानकीकरण/ स्तरीकरण हुनु अर्थात्
सबै कम्प्युटर प्रयोग कर्ताले एकै प्रकारको कीबोर्ड लेआउट उपयोग गर्नु
पनि आवश्य छ । सकेसम्म हिन्दीको कीबोर्डसँग एकरूपता ल्याउनसके अझै
बेस हुन्छ ।
युनिकोडमा नेपाली लेख्न थालेपछि यसले भाषा र
साहित्यलाई धेरै सुविधा दिन्छ । पहिलो सुविधा, अंग्रेजीको एबीसीडी
वर्णाानुक्रम अनुसार शब्द श्रेणीवद्ध (र्सर्टिङ) गरेजस्तै नेपाली शब्दहरूलाई
पनि र्सर्टिङ गर्नसकिन्छ । युनिकोड अपनाएपछि वर्णानुक्रमअनुसार हर्न
मिल्ने नेपाली शब्दकोश तयार गर्नसकिन्छ । साथै अंग्रेजी भाषाको स्पेलिङ
चेकरजस्तै नेपालीको हिज्जे गल्ती भएमा कम्प्युटर आफैले सुधार्ने वा
सुझाव दिने हिज्जे परीक्षक बनाउनसकिन्छ । यसले भाषिक शुद्धता, एकरूपता
र सरलताका लागि ठूलो सघाउ पुग्छ ।
युनिकोडमा देवनागरी लिपि बने पनि यसलाई कम्प्युटरमा चलाउन केही समस्या
देखिएका छन् । विंडोज ९८ र त्योभन्दा पहिलेका विंडोज संचालन प्रणाली
(अपरेटिङ सिस्टम) भएका कम्प्युटरमा युनिकोडले काम गर्दैन । विंडोज
२००० र सोभन्दा पछि बनेका विंडोज संचालन प्रणालीयुक्त कम्प्युटरले
युनिकोडको देवनागरी लिपिमा काम गर्छ भनिए तापनि विंडोज एक्सपीका केही
भर्सनहरूमा देवनागरी युनिकोडमा लेख्ने समस्या देखिएको छ । यसका लागि
केही अनुप्रयोग कार्यक्रमहरू (एप्लिकेसन सफ्टवेयर) जडान गर्नुपर्ने
देखिन्छ । थाइल्याण्डमा बनेका र थाइभाषामा काम गर्ने कम्प्युटरहरूमा
पनि देवनागरी युनिकोड राख्ने समस्या देखिएको छ । यसको लागि माइक्रेसफ्ट
कम्नीले उत्पादन गर्ने संचालन प्रणाली बनाउँदा नै देवनागरीलिपिमा अनुकूल
हुने गरी बनाउनुपर्ने देखिन्छ ।
हाल प्रचलित नेपाली फन्टको कीबोर्ड लेआउट र देवनागरी
लिपिको नेपालमा विकसित कीबोर्ड लेआउट फरक हुनाले पुरानो तरिकाले टाइप
गर्ने बानी परेकाहरूका लागि नयाँ कीबोर्डमा टाइप गर्न सिक्न झंझट लाग्नसक्छ
।
अहिलेसम्म कुनै पनि नेपाली पत्रपत्रिकाले युनिकोडको देवनागरी लिपिमा
छाप्ने गरेका छैनन् । जसले गर्दा लेखक र पत्रकारहरूलाई वाध्य भएर पुरानै
फन्ट र त्यसैअनुसारको कीबोर्ड चलाउनु परिरहेको छ । कान्तिपुर र प्रीति
फन्टमा टाइप गरिएका सामग्री मदन पुरस्कार पुस्तकालयले तयार पारेको
रूपान्तर कार्यक्रमको मदतले तुरुन्तै युनिकोडमा बदल्नसकिन्छ । तर युनिकोडमा
लेखिएका सामग्री कान्तिपुर र प्रीति फन्टमा रूपान्तरित गर्ने व्यवस्था
छैन । पुस्तक र अन्य पाठ्य सामग्री विभिन्न कलात्मक डिजाइनमा छाप्न
खोज्नेहरूका लागि युनिकोडका फन्टहरू रोज्ने विकल्प साह्रै थोरैछ ।
युनिकोडमा कलात्मक फन्टहरूको विकास गर्न बाकी नै छ ।
माथि उल्लेख गरिएका कमीकमजोरी हटाउन सके र देवनागरी
हिन्दीका लागि बनेका फन्टमा नभएका आधा र (¥) , प्रश्न चिन्ह (?), अर्द्ध
विराम, उद्धरण चिन्ह (" " ) आदि केही कमी पूरा गर्नसके निश्चय
नै नेपाली शिक्षित समाजले देवनागरी युनिकोडमा नेपाली टाइप गर्न थाल्नेछन्
।
नेपालीमा कम्प्युटर
देवनागरी लिपि युनिकोडमा हुँदैमा वा विश्वभरिका
कम्प्युटरमा देवनागरी लिपि हर्न, पढ्न र लेख्न सकिने सुविधा हुँदैमा
नेपाली भाषामा कम्प्युटर चल्न सक्तैन । यसको लागि कम्प्युटरको संचालन
प्रणाली (अपरेटिङ सिस्टम) नै नेपालीमा हुनुपर्छ । कम्प्युटरको मनिटरमा
देखिने सबै सन्देश नेपालीमा हुनैैपर्छ । कम्प्युटरलाई दिइने आदेशका
साथै कम्प्युटरले बेलाबेलामा दिने सन्देश पनि नेपाली भाषामै हुनुपर्छ
नत्र अंग्रेजी नबुझनेले कम्प्युटर चलाउन सक्तैन । अहिलेसम्म अधिकांश
मानिस र कार्यालयले कम्प्युटरलाई टाइपराइटरको रूपमा मात्र प्रयोग गर्नुको
कारण यही हो ।
नेपाली भाषामा आदेश दिएर चल्ने संचालन प्रणालीको
लागि भइरहेका प्रयासहरू
१ कम्प्युटर संचालन प्रणालीमा प्रयोग
हुने अंग्रेजी शब्दहरूको नेपालीमा स्थानीयकरण :
नेपाली भाषाको संचालन प्रणाली बनाउनका लागि र्सवप्रथम
सो प्रणालीमा प्रयोग हुने शब्दहरूको नेपाली भाषामा स्थानीयकरण हुनुपर्छ
। यो काम अनलिमिटेड न्युमिडियाले थालेको थियो र यसैलाई विज्ञान तथा
प्रविधि मन्त्रालय, उच्चस्तरीय सूचना प्रविधि आयोग अर्न्तर्गत सूचना
प्रविधिमा नेपाली भाषा निर्देशन समितिले पूरा गरेको छ । हाल सूचना
प्रविधिमा प्रयोग हुने नेपाली भाषाको २३१६ मानक शब्दहरू तयार भएका
छन् । अब बन्ने माइक्रोसफ्टको विंडोज संचालन प्रणालीमा यिनै मानक शब्दहरू
प्रयोग हुनेछन् । यो लेखमा प्रयोग भएका संझयाल, संचालन प्रणाली, अनुप्रयोग,
जडानजस्ता शब्दहरू सो समितिले निर्धारण गरका मानक शब्द हुन् । यसको
मतलब अब नेपाली भाषाको संचालनप्रणाली जडान भएको कम्युटर खोल्ने बित्तिकै
स्टार्ट भन्ने शब्दको सट्टा देवनागरी लिपिमा सुरु भन्ने शब्द देखिनेछ
। त्यस्तै गरी फाइल मेनुमा क्लिक गर्दा नयाँ, खोल्नुहोस्, बन्दगर्नुहोस्,
बचत गर्नुहोस्, यस रूपमा बचत गर्नुहोस् (सेभ एज) आदि शब्द देखिनेछन्
जसले गर्दा अंग्रेजी नजानेका मानिसहरूले पनि कम्प्युटर चलाउन सक्नेछन्
।
नेपाली भाषामा कम्प्युटर चलाउनका नेपाली शब्दहरुको
मानकीकरण नगरी नहुने काम थियो । यो काम झण्डै सकिएको छ । यसमा परेका
शब्दहरू कत्तिको व्यावहारिक छन् र भविष्यमा कम्प्युटर संचालकहरूमाझ
कत्तिको चलनचल्तीमा आउलान् भन्ने प्रश्न उठाउने प्रसस्त ठाउँ छ । उदाहरणका
लागि अंग्रेजी शब्द डेटा (Deta) को मानक नेपाली लगत बनाइएको छ । घरबनाउने
निर्माण सामग्री इंटा, ढुंगा सिमेन्ट इत्याद भएजस्तै सूचनाको निर्माण
सामग्री डेटा हो । यसलाई सूचनाको तथ्यांकात्मक प्रारम्भिक जानकारी
भनिन्छ । जबकि नेपाली बृहत शब्दकोश, प्रयोगात्मक नेपाली शब्दकोश र
नेपाली शब्द सागरमा लगतको अर्थ "कुनै कामका लागि चाहिने नगद वा
जिन्सी मालमत्ताको विवरण, फिरिस्त, दरबन्दी... " भनेर लेखिएको
छ । यस्ता भ्रमपूर्णा शब्दहरू स्वीकृत मानक शब्दावलीमा धेरै नै भेटिन्छन्
। मानक शब्द सही भएन भने कस्तो उट्पट्याङ भाषा बन्छ भन्ने उदाहरण हिन्दीको
वेबसाइटबाट लिइएको यो अंशले दिनसक्छ :
"हिन्दी के जालराजोँ के अड्डे पर आपका स्वागत
है । जालराज यानी वेबमास्टर वह इंसान जो जालस्थल पर मसला बनाता है,
डालता है, और इधर उधर करता है । यदि आपका कोई हिन्दी में जालस्थल है
तो आपका स्वागत है । देवनागरी लिपि के लिए केवल एक ही मानक कूट वन्धन
है, जिसे कि आई एस ओ मान्यता प्राप्त है । और वह है युनिकोड । तो यदि
आप अपना कुछ मसला लिख रहे हैं तो उसे युनिकोड में लिखें । वरना गूगल
भइया को समझ में नहीं आता, और आपका स्थल लोगोंको मिलेगा नहीं । जब
स्थल मिलेगा ही नहीं तो उसका फयदा क्या...." हर्नुस् www.devanaagarik.nethi
तर जस्तो भए पनि एउटा मानक शब्दावली तयार भएकोमा
खुशी मान्नुपर्छ र यसैलाई सुधारेर लागू गर्दै र परिमार्जन गर्दै लैजानुपर्छ
।
२ नेपाली भाषामा कम्प्युटर संचालन प्रणालीको
विकास
पहिलेपहिलेका मेसिनहरूभित्र अनेक पार्टपूर्जा
हुन्थे । एउटा पूर्जाले अर्को पूर्जालाई चलाउँथ्यो । पर्याप्त मात्रामा
गति, बल र उर्जा चाहिन्थ्यो । तिनलाई चलाउने प्रणाली देख्नसिन्थ्यो
। तर कम्प्युटरभित्र र बाहिर आँखाले देखिने भौतिक यन्त्र उपकरणहरू
तिनलाई चलाउने प्रणालीलाई आँखाले देख्न सकिन्न । यसलाई संचालन प्रणाली
वा अपरेटिङ सिस्टम भनिन्छ । आँखाले देख्न र छुनसकिने कम्प्युटरका यन्त्र
उपकरणलाई हार्डवेयर भनिन्छ भने कम्प्युटर संचालन गर्ने प्रणालीलाई
सफ्टवेयर भनिन्छ । सफ्टवेयर मुख्य दई प्रकारका हुन्छन् । अपरेटिङ सिस्टम
कम्प्युटर चलाउने मुख्य प्रणाली हो । तर कम्प्युटरबाट हिसाब किताब
राख्ने, चिठीपत्र लेख्ने, फोटो सम्पादन गर्ने आदि अनेकौँ काम गर्ने
प्रणालीहरू पनि हुन्छन् । तिनलाई अनुप्रयोग कार्यक्रम (एप्लिकेसन प्रोग्राम)
भनिन्छ ।
(क) माइक्रोसफ्ट कम्पनीले बनाएका विंडोज संचालन
प्रणाली र अनुप्रयोग कार्यक्रमहरू
विश्वका सबैभन्दा धनी व्यक्ति बिल गेट्सको माइक्रोसफ्ट
कम्पनीले बनाएको विंडोज ९५, विंडोज ९८, विंडोज २००० र विंडोज एक्सपी
नाम गरेका संचालन प्रणालीहरू संसारमा धेरै प्रचलित छन् । नेपालका अधिकांश
कम्प्युटरहरूमा माइक्रोसफ्टकै संचालन प्रणालीहरू छन् । यसैले नेपाली
भाषा र देवनागरी लिपिमा आदेश दिएर कम्प्युटर चल्ने बनाउनका लागि माइक्रोसफ्टका
विंडोज संचालन प्रणालीहरू नै नेपाली भाषा र देवनागरी लिपिमा हुनु जरुरी
छ ।
अमेरिकाको माइक्रोसफ्ट कम्पनीको नेपालस्थित साझेदार
कम्पनी अनलिमिटेड न्युमिडियाले नेपालीमा माइक्रोसफ्ट विंडोज र अफिस
सफ्टवेयर बनाउन थालेको समाचार आउन थालेको धेरै वर्ष भइसकेको छ । त्यसले
नेपाली भाषामा देवनागरी लिपिमा चल्ने संझयाल संचालन प्रणाली बनाउँदैछ
। सबैभन्दा पहिले त्यसले विन्डोज र अफिस कार्यक्रम/सफ्टवेयर तयार पार्दैछ
। त्यसपछि क्रमशः एक्सेल, पावरप्वाइन्ट र इमेलका लागि आउटलुक एक्सप्रेस
पनि बनाउँदैछ । कम्पनीका अनुसार त्यसले आफ्नो उत्पादन निःशुल्क वितरण
गर्न लागेको छ ।
(ख) प्यान स्थानीयकरण परियोजनाअर्न्तर्गत लिनक्स
संचालन प्रणाली र अनुप्रयोग कार्यक्रमहरू
माइक्रोसफ्टको विंडोज संचालन प्रणालीबाहेक पनि
संसारमा धेरै प्रकारका संचालन प्रणालीहरु चल्तीमा छन् । जस्तै डीओएस्,
म्याकिन्टस्, एमएस-डीओएस्, ओएस/२, युएनआईएक्स्, माइक्रोसफ्ट, लिनक्स
आदि । यसैबीच मदन पुरस्कार पुस्तकालयले सन् २००५ को मार्च महिनादेखि
नेपाली लिनक्स संचालन प्रणाली तयार पार्दैछ । माइक्रोसफ्टको संचालन
प्रणाली र लिनक्सको संचालन प्रणालीबीच के फरक वा समानता होला ? माइक्रोसफ्ट
विन्डोज सबैभन्दा धेरै प्रचलित संचालन प्रणाली हो र यसैको व्यापारले
बिल गेट्स धनी भएका हुन् । माइक्रोसफ्ट कम्पनीका संचालन प्रणालीहरू
पैसा तिरेर किन्न'पर्छ । लिनक्स संचालन प्रणाली पैसा नतिरी उपयोग गर्नसिकन्छ
।
नेपालमा कम्प्युटरका धरै महँगा संचालन प्रणालीहरू
र अनुप्रयोग कार्यक्रमहरू पनि चोरी (पाइरेटड) गरिएका पाइन्छन् । तर
यो स्थिति सँधै रहनेछैन । अहिले नेपालका कम्प्युटर प्रयोगकर्ताहरूले
कम्प्युटरमा चलाइरहेका कतिपय सफ्टवेयरहरू कम्प्युटरको मोल भन्दा धेरै
गुना महँगा हुनसक्छन् । ती सबै सफ्टवेयर किनेर चलाउने औकात धेरै जनाको
छैन । यसैले सस्तो वा सित्तैमा पाइने तर स्तरीय सफ्टवेयर प्रयोग गर्नेतिर
विश्वभरि आन्दोलनजस्तै चलिरहेको छ । इन्टरनेटबाट धेरै प्रकारका सफ्टवेयरहरू
डाउनलोड गरेर प्रयोग गर्नसकिन्छ । यसरी सित्तैमा उपलब्ध हुने सफ्टवेयरलाई
सगोलमा फ्लोस (FLOSS = लिबरल अपरेटिङ सिस्टम सफ्टवेयर) भनिन्छ । सित्तैमा
पाइने यस्ता सफ्टवेयरहरू जसले पनि डाउनलोड गरेपछि कुनै पनि काममा उपयोग
गर्न वा पुनर्निर्माण गर्नसकिन्छ । निःशुल्क सफ्टवेयरहरू ठूला स्वयंसेवी
संस्था र व्यक्तिहरूले बनाएर परोपकारका लागि दान गर्छन् । राष्ट्र
संघजस्ता विश्व संस्थाहरूले यस्ता उपयोगी र निःशुल्क सफ्टवेयरहरू बनाएर
बाँडन'पर्छ भन्ने आवाज जोडदार ढंगले उठिरहेको छ । नेपाली लिनक्स संचालन
प्रणाली विकास गर्ने परियोजनाका लागि ४२ लाख रूपैयाँ अनुदान दिइएको
बताइन्छ ।
लिनक्स संचालन प्रणालीको विकास युनिक्स संचालन
प्रणालीबाट भएको हो । युनिक्स निक्कै भरपर्दो र धेरै प्रकारको काम
गर्नसक्ने प्रणाली हो । यो सस्तो पनि छ । लिनक्स संचालन प्रणाली राखेपछि
कम्प्युटरमा नेटवर्किङ गर्न, यही सफ्टवेयरको आधारमा अन्य अनुप्रयोग
कार्यक्रमका सफ्टवेयर बनाउन सकिन्छ । यो र्सवसुलभ र उपयोगी भएको हुनाले
विश्वभरि यसको लोकप्रियता बढिरहेको छ । नेपालजस्तो सफ्टवेयर सित्तैमा
प्रयोग गर्नु पर्ने ठाउँमा लिनक्सको उपयोग गर्नु उपयुक्त हुनसक्छ ।
नेपाली भाषाबाट लिनक्स संचालन प्रणाली तयार हुनु स्वागतयोग्य कुरा
हो ।
अझै कति कुर्ने ?
नेपाली अखबारहरूमा "विण्डोजले नेपाली भाषामा
पनि काम गर्ने" शीर्षकका समाचार आउन थालेको २०५७ सालको सुरुतिरै
हो । त्यति बेला प्रकाशित समाचारमा नै "सामान्य साक्षर व्यक्ति
अर्थात् नेपाली मात्र जान्नेले पनि कम्प्युटर चलाउनसक्ने गरी प्रोग्राम
बनाउन अनलिमिटेड न्युमिडियाले दुई वर्षअगाडि थालेको अभियानमा यसले
धेरै हदसम्म सफलता पनि पाइसकेको" उल्लेख छ । यसको मतलब नेपालीमा
चल्ने संचालन प्रणाली बनाउन थालेको पाँच वर्षबितिसक्यो । अखबारमा प्रकाशित
समाचार अनुसार अनलिमिटेड न्युमिडियाले पोहोर बैशाख १ गतेदेखि नै नेपाली
भाषामै कम्प्युटर चलाउने सेवा उपलब्ध गराउनु पर्ने थियो । तर अहिले
पनि "अब नेपालीमा कम्प्युटर चल्ने" आसयका समाचारहरू बडो
महत्वका साथ आइरहेको देख्दा अचम्मका साथै दुख पनि लाग्छ ।
हुन त नेपाली भाषाको संचालन प्रणाली सित्तैमा
बाँडने भन्ने आसयको समाचार पनि बेलाबेलामा नआएको होइन तर नाफा नहुने
काममा व्यापारीले हात हाल्दैन । यसैले माइक्रोसफ्ट संचालन प्रणालीमात्रै
होइन अन्य उपयोगी संचालन प्रणालीहरुका लागि पनि सरकारले अनुदान दिएर
सस्तो दरमा संचालन प्रणाली उपलब्ध गराउनुपर्छ । साथै नेपालमा विक्रीवितरण
हुने कम्प्युटरहरुमा कुनै न कुनै कम्पनीको नेपाली अपरेटिङ सिस्टम जडान
गरेको हुनै पर्ने नियम लागू गराउनसकिन्छ ।
हाल नेपालीमा युनिकोडमा वेबसाइट राख्नेहरूको
संख्या दिनदिनै बढिरहेको छ । युनिकोडमा राखिएका दर्जनौँ नेपाली र हिन्दी
भाषाका वेबसाइटहरूबाट सूचना र ज्ञानको खानी नै भेटाउनसकिन्छ । अब अंग्रेजी
नबुझ्ने नेपालीले पनि कम्प्युटरका केही सामान्य कुराहरु सिकेर ती वेबसाइटहरुमा
विचरण गर्दै आफूलाई चाहिएको कुरा भेट्टाउनसक्छ ।
समाप्त ।
Back |