IT for Development (Articles in Nepali)
गाउँमा आर्थिक क्रान्तिका
लागि मोबाइल फोन
विनयकुमार कसजू
पोखराको बेगनास तालमा माछा मारिरहकी मंगली माझीको मोबाइल
फोनको घण्टी बज्यो । होटल राहीले तुरुन्तै दश किलो माछा चाहियो भनेर
फोन गरेको रहेछ । उनले माछाको जाबी उचालेर अडकल गरिन् । पाँच किलो
जति माछा होला । थप पाँच किलो माछाको लागि उनले त्यही तालको धेरै पर
डुँगामा माछा मारिरहेको संचबहादुर माझीलाई मोबाइल फोनमा सम्पर्क गरिन्
। उनले पाँच किलो भन्दा धेरै माछा मारिसकेको मंगलीले थाहा पाइन् ।
उनले आफ्नो डुँगा संचबहादुरको डुँगानजिकै लगिन् र उनीसँग भएका माछा
लिएर मंगली राही होटलतिर लागिन् ।
धनकुटाको कचिल्डेकी विष्णुमाया बिहानै घरमै उमारेको
च्याउ टिपेर बजार जान लागेकी थिइन् । धनकुटा बजारमा च्याउको त्यति
माग थिएन । च्याउ बेच्न कहाँ लैजाने होला भनेर अलमलिएकी थिइन् । त्यही
बेला उनको मोबाइल फोनको घण्टी बज्यो । बसपार्कको उपहार पसलमा च्याउ
किन्ने ग्राहक आएका रहेछन् । उनी ढाकरमा च्याउ राखेर हतारहतार बसपार्कतिर
लागिन् ।
पाल्पा मदनपोखराका टेक प्रसाद पाण्डेले आफ्नो बारीमा
गोलभेडा टिप्दै मोबाइल फोनबाट बुटवल, तानसेन, आरेभंज्याङ र पोखराका
तरकारी पसलेहरूसँग गोलभेडाको भाउताउ गरे । सबैभन्दा चित्तबुझ्दो भाउ
बुटवलमा पाएपछि उनले पाँच क्विन्टल गोलभेडा बुटवलको हाटबजारमा पुर्याए
।
"बाह्र बजे बीस जना पर्यटक आइपुग्छन् । स्वागत
सत्कार र तातोतातो खाना ठिक पार्नू," भन्दै मोबाइल फोनबाट सन्देश
पाएपछि कास्कीको गाउँले पर्यटनमा नाम कमाएको घले गाउँको आमा समूह पाहुनाको
स्वागत गर्ने तयारीमा जुट्यो ।
नवलपरासीका लालु कुर्मीको गोठका जर्सी गाई ब्याउँदा होस् कि सालझण्डीकी
सुमित्रा थापाको बंगुरलाई बेथा लाग्दा मोबाइल फोन नभएको भए बेलामा
उपचार नपाएर उनीहरूले धेरै घाटा बेहोर्नु पर्ने थियो ।
माथि उल्लेख गरिएका घटनाहरू नेपालमा द्रुत गतिले व्यापक
भइरहको मोबाइल फोनको ग्रामीण अर्थतन्त्रमा सम्भावित उपयोगका केही नमुना
हुन् । यदि मोबाइल फोनको विकास सही दिशामा र उपयुक्त लक्षित समूहका
लागि भयो भने आगामी वर्षदिनभित्र नेपालका दुर्गम क्षेत्रमा बस्ने गाउँलेहरू,
खास गरी कृषकहरूले, कस्तो फाइदा लिन सक्छन् भन्ने यो उदाहरण हो । तर
मोबाइल फोनको उपयोग गरेर जुम्लाको स्याउ नेपालगंज हुँदै जापान पुग्न,
मुस्ताङको स्याउको रक्सी काठमाडौँका भव्य होटलका टेबुलहरूमा सजिन,
हिमाली भेकमा उत्पादित ताजा चिज राजधानी र तराईका बजारमा पुग्न, पहाडमा
उत्पादित फलफूल तरकारी र दूधध्यूले महँगा बजारमा उचित मोल पाउन अब
धेरै दिन कुर्नु पर्नै छैन ।
नेपालमा कृषि विकासका लागि धेरै प्रयास भएता पनि कृषि
बजारको महत्वलाई पर्याप्त मात्रामा ध्यान दिइएको छैन । फलस्वरूप कृषि
विकासका लागि भइरहेको लगानी, योजना र विभिन्न उपायहरू वांछित मात्रामा
सफल हुन सकेका छैनन् । गाउँको आर्थिक उन्नतिको आधार नै कृषि हो । तर
हाम्रो कृषि आर्थिक दृष्टिले आकर्षक हुनसकेको छैन । फलस्वरूप पंच्यासी
प्रतिशत नेपाली बस्ने गाउँहरू बेरोजगारी लगायत विभिन्न समस्याले ग्रस्त
छन् ।
कृषि बजारलाई सूचना र संचारले प्रभावित गर्छ । कृषकलाई उसले उत्पादन
गरेको सामानको बजार भाऊ मात्रै होइन उसलाई मलबीउ लगायत मौसमको जानकारी
पनि चाहिन्छ । त्यस्तै व्यापारीलाई पनि कृषि उत्पादन र अन्य बजारको
जानकारी चाहिन्छ । व्यापारी र कृषक दुबै सूचित हुनुपर्छ । एक पक्षमात्रै
सूचित भयो भने सूचनायुक्त पक्षले मात्रै फाइदा पाउँछ ।
अहिले गाउँ तथा दुर्गम क्षेत्रमा सूचना र संचारको सजिलो,
सस्तो र भरपर्दो साधन मोबाइल फोन नै हुनसक्छ । यो कुरा अन्य विकासशील
देशहरूको अनुभव, खास गरी बंगलादेशको ग्रामीण फोनले ल्याएको आर्थिक
क्रान्तिले पनि स्पष्ट पारेको छ । कुनै देशमा मोबाइल फोनका प्रयोग
कर्ता सयकडा दश अर्थात् सय जनामा दश जनाको अनुपातमा बढदा त्यो देशको
औसत घरेलु उत्पादन (जीडीपी) ०.६ प्रतिशतले बढ्छ भनेर लण्डन स्कुल अफ
बिजनेसको एउटा अध्ययनले देखाएको छ ।
आर्थिक विकासमा मोबाइल फोनको यही महत्वले गर्दा नै चिन,
भारत, फिलिपिन्स, दक्षिण कोरिया जस्ता द्रुत गतिले आर्थिक प्रगतितिर
लम्किरहेका देशहरूमा मोबाइल फोनको विकासले फडको मारिरहेको छ । ती देशहरूमा
कम्प्युटरभन्दा मोबाइल फोनको संख्या, सेवा र व्यवसाय धेरै बढिरहेको
छ । अहिले चिनमा सयकडा बीस जनाभन्दा धेरैको हातमा मोबाइल फोन छ । त्यस्तै
भारतका गाउँगाउँमा पनि मोबाइल फोन पुग्न थालेको छ ।
भौतिक पूर्वाधारको अभाव, ठूलो लगानी, सुरक्षा आदि विभिन्न कारणले गर्दा
नेपालमा गाउँगाउँमा परम्परागत तारयुक्त टेलिफोन पुर्याउनु सजिलो छैन
। ताररहित सूचना प्रविधि नै यहाँको लागि सबैभन्दा उपयुक्त र प्रभावकारी
उपाय हो । रेडियोले एकतर्फी सूचना प्रवाहित गर्छ भने टेलिफोनले दुई
तर्फी । यसैलै नेपालमा अहिले बढिरहेको मोबाइल फोनलाई कृषि बजारको विकासँग
जोडेर हेर्नु अति आवश्यक छ ।
अहिले पनि नेपालको आधा जनसंख्या निरक्षर छ । पाँच प्रतिशत
नेपालीहरू पनि अंग्रेजी भाषामा संचार गर्न सक्तैनन् । यस कारण कम्प्युटरमा
आधारित सूचना प्रविधिको दाँजोमा फोनमा आधारित सूचना प्रविधि नेपालीहरूका
लागि निक्कै धेरै उपयोगी हुनु स्वाभाविक हो ।
गाउँमा कम्प्युटरको उपयोग बढाउन पनि धेरै समस्याहरू छन् । नेपालीको
संस्कार पनि लिखित सूचनाभन्दा मौखिक सूचनामा भर पर्ने संस्कार हो ।
यसैले मोबाइल फोनलाई कृषि सूचनाको माध्यमको रूपमा उपयोग गर्नु आवश्यक
छ । आर्थिक र प्राविधिक दृष्टिले पनि मोबाइल फोन कम्प्युटरमा आधारित
सूचना प्रविधिभन्दा सस्तो र सजिलो पनि छ ।
नाफा पनि कमाउने गरिबी पनि घटाउनेः
विपन्न देशको गरिबी घटाउने काममा मोबाइल फोनको महत्वले
गर्दा अहिले मोबाइल फोनका उत्पादकदेखि सेवा प्रदायकसम्म सबै खालका
व्यवसायीले गरिबी घटाउने साथै नाफा पनि कमाउने राम्रो उपाय भेटाएका
छन् । गरिबी निवारणका लागि एउटा देशको सरकारले अर्को देशको सरकारलाई
दिने आर्थिक सहयोग भन्दा प्रविधिको व्यापारमार्फत गरिने सहयोग बढी
महत्वपूर्ण बन्दैछ ।
केही समय अघिसम्म सूचनाको खाडल पुर्ने उपायको रूपमा
सूचना प्रविधि खास गरी कम्प्युटर इन्टरनेट इमेलको उपयोगलाई बढी महत्व
दिइन्थ्यो भने अहिले आएर गरिब मुलुकले धान्नसक्ने दूरसंचारको पूर्वाधार
र गरिबहरूकै क्रयशक्तिलाई ध्यानमा राखेर मोबाइल फोनको उपयोग बढाउने
कुरामा जोड दिइँदैछ । कम्प्युटरमा अंग्रेजी भषाको प्रभुत्वले गर्दा
पनि विकासशील देशहरूका उपभोक्ताका लागि कुराकानीमा आधारित टेलिफोन
बढी उपयोगी हुने स्पष्ट भएको छ । सांस्कृतिक दृष्टिले पनि कम्प्युटरभन्दा
मोबाइल फोन नै बढी सजिलो र प्रभावकारी छ । वास्तवमा अहिले विकसित देशलाईभन्दा
विकासशील देशलाई मोबाइल फोनको खाँचो बढी छ, किनकि मोबाइल फोनले गरिब
जनतालाई आफ्नो मदत आफै गर्न सघाउनसक्छ ।
भविष्यको सूचना प्रविधिको व्यापारको ठूलो हिस्सा ताररहित
प्रविधि, खास गरी मोबाइल फोनले लिने कुरामा व्यवसायीहरू ढुक्क छन्
। यसैले विश्वका सूचना प्रविधि लगानीकर्ताहरू मोबाइल फोन सेटमा टेलिभिजनदेखि
टेपरेकर्डरसम्मको सबै सुविधा जडान गर्न प्रतिस्पर्धा गर्दैछन् । वास्तवमा
अहिले सूचनाका साधनहरूको सबैभन्दा बढी आवश्यकता र ग्राहक पनि विकासशील
देशका विशाल जनसंख्यालाई नै छ । यसैले त्यो संभावित ग्राहक वर्गलाई
लक्षित गरेर व्यवसायीहरू प्रतिस्पर्धामा उत्रेका छन् । नेपालमा हाल
देखिएको दुई मोबाइल फोन सेवा प्रदायकहरूबीच भइरहेको प्रतिस्पर्धा यसैको
सूचक हो ।
नेपालमा परम्परागत तारयुक्त टेलिफोनको संख्या पचास वर्षमा
तीनलाख पुग्यो भने मोबाइल फोनको संख्या पाँच वर्षभित्रै तीनलाख पुगिसकेको
छ । यो वृद्धिदर निरन्तर बढ्दै छ । विकासशील मुलुकहरूमा व्याप्त संचारको
खाडल साँगुर्याउने र विकासको गति तीब्र बनाउने काममा मोबाइल फोनको
उपयोगिताबारे अब कुनै शंका छैन । अहिले आम जनताको जीवनस्तर उठाउने
काममा यसलाई कसरी उपायोग गर्ने भन्ने व्यापक दृष्टि, नीति, योजना र
कार्यक्रमको खाँचो छ ।
समाप्त ।
कान्तिपुर दैनिक २०६२ मंसिर २८ गते मंगलबार प्रकाशित
।
समाप्त
Back |