दृष्टिकोण
सञ्चार स्वप्नद्रष्टा आर्थर सी. क्लार्क
विनयकुमार कसजू
'क्लार्कको दिमाग यस्तो थियो कि त्यो संसारले जति लिए पनि रित्तिन्नथ्यो । उनीसँग कल्पनाको विशाल भण्डार थियो, बुद्धि थियो अनि एक किसिमको बहुलट्ठीपनजस्तो विचित्रको जिज्ञासु चरित्र थियो जसले उनका अघिल्ला तीन विशेषतालाई छर्लंग पाथ्र्यो ।'
सूचना-प्रविधि क्षेत्रका युगद्रष्टा विज्ञानलेखक बेलायती नागरिक आर्थर सी. क्लार्कले सन् 2008 मार्च 19 मा 90 वर्षको उमेरमा भौतिक देह त्यागे । दोस्रो विश्वयुद्धताका बेलायतको रोयल एयर फोर्समा काम गरेका उनी राडार इन्जिनियर थिए । सेनाको वायुसेवाको राडार प्रणालीको रेखदेख गर्थे । त्यस बेलादेखि नै उनले अन्तरिक्षमा सञ्चार भू-उपग्रह स्थापना गर्ने अवधारणा बनाइसकेका थिए । अन्तरिक्षमा पठाइने सटल (यान), सुपर कम्प्युटर र द्रुत सञ्चार प्रणालीको उनको सविस्तार वर्णनले लाखौँ पाठकलाई प्रेरित गरेको थियो । आफ्नो विचारलाइ एकस्व अधिकार (पेटेन्ट राइट) भनेर किन दर्ता गराएनन् भनी सोध्दा उनले भनेका थिए, 'मैले त्यो दर्ता गर्न पाइनँ, किनभने मेरो जीवनकालमा यस्तो होला भनेर चिताएकै थिइनँ ।'
आर्थर सी. क्लार्क सन् १९१७ डिसेम्बर १६ मा बेलायतमा जन्मेका थिए । १९५३ मा उनले सम्बन्धविच्छेद गरेकी छोरासहितकी महिलासँग बिहे गरेका थिए । तर, १९६४ मा पत्नीसँग उनको सम्बन्धविच्छेद भएको थियो । उनका सन्तान थिएनन् । १९५६ देखि उनी श्रीलंकामा बसेर अध्ययन गर्न थालेका थिए । पछि, उनी श्रीलंकाकै नागरिक भए ।
उनको कथा 'रक्षक' (सेन्टिनल) लाई फिल्म-निर्देशक स्टेन्ली कुबि्रकले फिल्ममा ढालेपछि विज्ञान लेखक अर्थर चाल्र्स क्लार्क अचानक ख्यातिको शिखरमा पुगेका थिए । १९६८ मा बनेको '२००० : स्पेस ओडेसी,' अर्थात् अन्तरिक्ष यात्रा नामक त्यो फिल्म विश्वमै लोकप्रिय भयो । अन्तरिक्षमा भ्रमण गर्नेबारे उनको परिकल्पना र कम्प्युटरको पूर्वानुमानले वैज्ञानिकहरूको मात्रै होइन, पाठकको पनि दिमागमा झिल्का उत्पन्न गरिदियो ।
स्टेन्ली कुबि्रकले भनेका थिए, 'लार्कको दिमाग यस्तो थियो कि संसारले जति लिए पनि त्यो रित्तिन्नथ्यो । उनीसँग कल्पनाको विशाल भण्डार थियो, बुद्धि थियो अनि एक किसिमको बहुलट्ठीपनजस्तो विचित्रको जिज्ञासु चरित्र थियो जसले उनका अघिल्ला तीन विशेषतालाई छर्लंग पाथ्र्यो ।'
१९४० को दशकमा उनले मानिस सन् २००० सम्ममा चन्द्रमामा पुग्ला भन्ने अड्कल गरेका थिए जुन त्यसभन्दा धेरै पहिले सम्भव भयो । उनले कथा, उपन्यास र विभिन्न विषयका सय भनदा बढी पुस्तक लेखेका थिए । उनका विज्ञानकथामा भएका कल्पनाबाट वैज्ञानिकले आविष्कार गर्ने विचार पाएका थिए । यसैले उनी महान् विज्ञान भविष्यवेत्ता मानिन्छन् । तर, उनको भविष्यवाणी फलितज्योतिषको जस्तो होइन, पूरा वैज्ञानिक आधारमा, तर्क र प्राविधिक विवरणसहित हुन्थे । उनले चन्द्रमामा यात्रा गर्दा त्यहाँ पुग्नुभन्दा पहिले मूल अन्तरिक्षयानबाट निस्केर अर्को यान क्याप्सुल चन्द्रमामा अवतरण गर्छ भनी लेखेका थिए । त्यस्तै, अन्तरिक्षमा पृथ्वीको कुनै पनि भागको माथि कृत्रिम भू-उपग्रहलाई कसरी स्थिर रूपमा अर्थात् जहिले पनि एउटै भूभाग वा देशमाथि राख्न सकिन्छ भन्ने विवरण लेखिसकेका थिए ।
क्लार्कको महत्त्वपूर्ण लेख जसका लागि उनले ४० पाउन्डको रकम पुरस्कार पाएका थिए, विश्वको पहिलो सञ्चार स्याटेलाइट सिन्कोम दुई पृथ्वीको कक्षमा स्थापना (सन् १९६३) हुनुभन्दा दुई दशकपहिले प्रकाशित भइसकेको थियो । सेनामा राडार इन्जिनियरको काम गर्दा नै उनले १९४५ मै 'वायरलेस वल्र्ड' पत्रिकामा लेख प्रकाशित गरेका थिए ।
त्यो लेखमा पृथ्वीभन्दा २२ हजार तीन सय माइलमाथि पृथ्वीको कक्ष (अर्बिट) मा स्थिर भू-उपग्रह स्थापना गरी त्यसको सहायताले विश्वव्यापी सञ्चार नेटवर्क सञ्चालन गर्ने कुरा लेखिसकेको हुँदा अन्तरिक्षको त्यो उचाइको क्षेत्र/कक्षलाई क्लार्क अर्बिट पनि भनिन्छ ।
उनको सबैभन्दा ठूलो देन यही सञ्चार भू-उपग्रहको अवधारणा हो । अहिले संसारको कुनै पनि भागबाट कुनै पनि बेला यति सस्तोमा कुराकानी गर्नेदेखि चित्र, चलचित्र तथा डिजिटल रूपमा सामग्री ओसार-पसार गर्ने जुन विश्वव्यापी सञ्चारप्रणाली हामीले प्रयोग गरिरहेका छौँ, त्यो यदि सञ्चार भू-उपग्रह नभएको भए सम्भव थिएन । इन्टरनेट र मोबाइल फोनका बारे पनि उनले बताइसकेका थिए । सञ्चार प्रविधिको उनको यो भविष्य दृष्टिले गर्दा उनलाई दूरसञ्चार भू-उपग्रहको धर्मपिताको रूपमा चिनिन्छ ।
उनी लेखक मात्र थिएनन् । समुद्री सतहभित्र जीवजन्तुको अनुसन्धानकर्ता, अन्तरिक्ष अनुसन्धानका प्रवर्द्धक, विज्ञान विषयलाई लोकपि्रय बनाउने अगुवा आदि उनका विभिन्न भूमिका थिए । तैपनि, उनी आफूलाई लेखकका रूपमा सम्झिरहन चाहन्थे ।
गत डिसेम्बरमा ९० औँ जन्मदिनमा उनले अब आफ्नो कुनै व्यक्तिगत चाहना नभएको बताउँदै मलाई तीनवटा इच्छा पूरा गर्न दिइएमा निम्नलिखित तीनवटा कुरा पूरा होस् भनेका थिए । पृथ्वीबाहिरको ग्रहमा बुद्धिमान जीव छ भन्ने उनको धारणा थियो । पृथ्वीबाट पठाइने अन्तरिक्षमा बाह्य जीवले पृथ्वीका मानिसको अस्तित्व भएको सन्देश पाउन् भनेर वैज्ञानिक संकेतहरू पठाइएका थिए । तर, कुनैको पनि जवाफ आएको छैन । यस्तो सन्देश बाह्य जीवले पठाउन् र उनीहरूको अस्तित्व भएको प्रमाण फेलापरोस् भन्ने उनको पहिलो इच्छा थियो ।
मानवसभ्यताको विकासको आधार ऊर्जाको प्रयोग हो । उनलाई पृथ्वीमा तेल र कोइलाको अत्यधिक प्रयोगले मौसम परिवर्तन भएर पृथ्वीबाट मानवसभ्यता समाप्त हुने चिन्ता थियो । यसैले मानिसको ऊर्जा प्रयोग गर्ने बानीमा परिवर्तन होस् भन्ने उनको दोस्रो इच्छा थियो ।
आफू ५० वर्षदेखि बस्दै आएको देश श्रीलंकामा दिगो शान्ति देख्न पाइयोस् भन्ने उनको तेस्रो इच्छा थियो । उनी भन्थे, 'मेरो जीवनकालमै मैले मेरा कतिपय सपना साकार भएको देख्न पाएको हुँदा म निकै भाग्यमानी छु ।'
नब्बेऔँ जन्मदिनमा उनले भनेका थिए, 'हामीले अन्तरिक्ष युगको पचासौँ वर्ष मनाउन लागेका छौँ, तर अन्तरिक्षको स्वर्णयुग त अब सुरु हुन लागेको छ । व्यापारिक अन्तरिक्षयात्रा सुरु हुन बाँकी छ । पृथ्वीको एक ठाउँबाट अर्को ठाउँमा विमानबाट यात्रा गरेझैँ अन्तरिक्ष पर्यटन सुरु भएपछि हजारौँ मानिसले अन्तरिक्षमा यात्रा थाल्नेछन् ।' सूचना तथा सञ्चार-प्रविधिको विकासमा उनले मानवसभ्यताले ठूलो फड्को मार्ने सम्भावना देखेका थिए, 'विज्ञानका क्षेत्रमा धेरै छिटोछिटो परिवर्तन भइरहेको छ ।
मोबाइलफोनले मानवसञ्चारमा क्रान्ति ल्याएको छ । झन्डै एकचौथाइ शताब्दीमा मोबाइलफोन उपभोक्ताको संख्या ३ दशमलव ३ विलियन पुगेको छ । मोबाइलफोनले मानवसञ्चारमा ठूलो क्रान्ति ल्याएको छ । यसले मानवसमाजलाई निरन्तर कुराकानी गरिरहने एउटा ग्लोबल परिवारजस्तो बनाइदिएको छ । मानवसभ्यताको विकासका लागि यसको गम्भीर अर्थ छ ।'
आजको सूचना युगमा प्राविधिकको ठूलो भूमिका र प्रभुत्व छ । उनीहरूले राजनीतिक नेताले अहिलेसम्मको भन्दा चाँडो हाम्रो विश्वलाई नयाँ रूप दिइरहेका छन् । यो प्राविधिक पक्ष भएकाले सजिलो पक्ष थियो । तर, अब यो प्रविधिलाई मानवजीवन बचाउने, उनीहरूको जीवनस्तर उकास्ने र करोडौँ मानिसलाई गरिबी र पीडाबाट उचाल्ने काममा उपयोग गर्नुपरेको छ । प्रविधिको चमत्कारबाट मानिसको अवस्थामा ध्यान पुर्याउनुपर्छ भन्ने उनको भनाइ थियो ।
'सञ्चार-प्रविधिको विकास अझै आवश्यक छ । सबै मानिसले एकअर्कासँग सञ्चार गर्नका लागि अझै यो पर्याप्त छैन । सूचना र सञ्चारको साधनमा पहुँचमा भेदभावको समस्या छ । यो प्रविधिले हामीलाई सूचना र ज्ञान बटुल्न र फैलाउन सघाउँछ । तर, प्रविधिको विकाससँगै मानिस र राज्यबीच समझदारी बढाउन हामीमा करुणा, संवेदना र सहनशीलताको खाँचो छ । मलाई आशावादमा ठूलो भरोसा छ । मैले आफ्नो जीवनकालमा धेरै सपना पूरा भएको देखेको छु । सञ्चारको विकासले यो पृथ्वीलाई सानो गाउँमा परिणत गरेको छ । अब यसलाई एउटा परिवारमा परिणत गर्नुपरेको छ । त्यही नै साँचो ग्लोबलाइजेसन हुनेछ' उनी यही भनेर गएका छन् ।
साभारः नयाँ पत्रिका दैनिक, 2008-03-24, Monday
http://www.nayapatrika.com/newsdetail.php?id=803240510378260&n_id=32