संसारलाई एउटै राजमार्गले जोडने अन्तर्राष्ट्रिय योजना बन्यो । राजमार्गले सकेसम्म सबै राष्ट्रलाई छोओस भन्ने उद्देश्य राखेको हुनाले त्यसको सानो हिस्सा नेपालमा पनि पर्ने भयो ।

जुन जिल्ला र गाउँहरु भएर राजमार्ग गुज्रने भयो त्यहाँका जनता निक्कै खुशी भए । अचानक ती ठाउँको महत्व र मोल बढयो । जग्गाको किनबेच बढनथाल्यो । मानिसहरु सपना बुन्न थाले ।

कसैले भने बाटो बनाउँदा व्यक्तिगत जग्गा पर्‍यो भने मुआब्जा डलरमा पाइन्छ । कोही बाटोछेउमा पर्ने खेतबारी घडेरी बनेपछि महँगोमा बेचेर शहरमा बसाइ र्सर्ने बिचार गर्न थाले । कोही गाउँमै व्यापार गरेर, होटल खोलेर अन्तर्राष्ट्रिय गा्रहकसँग डलरमा लेनदेन गर्ने योजना बनाउन थाले । शहरमा तरकारी र दूधदही बेच्न लैजानेहरु पनि अब आफ्नो सागपात र गोरस महँगोमा बेच्न पाइने भयो भनेर मख्ख परे । सँझसाँझ भट्टीमा जाँड खान जाने माइला पनि अब र्ठराको सट्टा हृविस्की खान पाइने भयो भनेर गफ गर्न थाल्यो । स्कुलहरुमा ग्लोबलाइजेसनको फाइदा शीर्षक निबन्ध प्रतियोगिताहरु हुन थाले ।

गाउँको चोला फेरिने भयो भन्ने कुरा जताततै चर्चा हुन थाल्यो । सबैको अनुहारमा खुशियाली छायो । यो खुशियाली गाउँको छेउमा बस्ने भिक्षा मागेर गुजारा गर्ने भस्मे जोगीको अनुहारमा पनि झल्कन थाल्यो । भस्मे खुशी भएको देखेर एक दिन कसैले ऊसँग सोध्यो, “यो बाटो बन्यो भने जग्गाजमिन हुनेहरु, व्यापारी र व्यवसायीहरु, किसानहरुलाई फाइदा हुने हुनाले उनीहरु खुशी देखिन्छन तर तिमी के कुरामा खुशी भएको -“

भस्मेले मुसुक्क हाँस्दै भन्यो, “यो बाटोमा विदेशीहरु हिँडन थालेपछि मैले पनि डलरमा भिक्षा पाउँछु नि ।”

साँचल, सानेपा

२०५७ चैत ५