 
			बस गुल्ट्यो ।
धेरै मानिस घाइते भए ।
घाइते सबै नेपाली थिए ।
होइन रहेछ ।
कोही नेवार थिए, कोही गुरुङ थिए, कोही तामाङ, कोही बाहुन, कोही क्षेत्री …..।
मानौँ सिँगै नेपालका विविध जातजातिको प्रतिनिधित्व बसभित्र थियो ।
समस्या पर्यो उद्धारकर्ताहरूलाई, एम्बुलेन्सको व्यवस्था गर्नेहरूलाई ।
लिम्बु एम्बुलेन्स आयो, घाइते सबै लिम्बुहरूलाई चिनेर गाडीमा राखेर लग्यो ।
यादव एम्बुलेन्स आयो, घाइते सबै यादवहरूलाई चिनेर गाडीमा राखेर लग्यो ।
तामाङ एम्बुलेन्स आयो घाइते सबै तामाङहरूलाई चिनेर गाडीमा राखेर लग्यो ।
बाहुन एम्बुलेन्स आयो, क्षेत्री एम्बुलेन्स आयो, गुरुङ एम्बुलेन्स आयो ।
नेवार एम्बुलेन्स आयो, मगर एम्बुलेनस आयो, राई एम्बुलेन्स अयो ।
हिन्दु एम्बुलेनस आयो, बौद्ध एम्बुलेन्स आयो ।
क्रिस्चियन एम्बुलेनस आयो, इस्लाम एम्बुलेन्स आयो ।
सबैले आआफ्ना घाइतेलाई अस्पताल पुर्याए ।
तर घाइते अझै बाकी थिए, जसको जात, धर्म, थर, ठेगाना थाहा भएन ।
तर ती सबै नेपाली थिए ।
आखिर उद्धारकर्ताहरूले नेपाल एम्बुलेन्स खोजे ।
तर नेपाल एम्बुलेन्स कतै भेटिएन ।
नेपाल एम्बुलेन्स वर्कसपमा पठाएको कसैलाई सम्झना भएन ।
अभिलेखसमेत भेटिएन ।
– विनय कसज
अगस्ट २९, २००९
