-विनय कसजू

“विरालोको घाँटीमा घण्टी बाँध्ने समस्याले हामीलाई कहिल्यै छोडेन । अब यो कुरामा समय खेर नफालौँ । बरु सकिन्छ भने अरु कुनै उपाय निकालौँ ।” दाह्रीवाल मुसाले जुँगा मुसार्दै भन्यो ।

“यो हामी मुसा जातिको जीवनमरणको समस्या हो । यस्तो महत्वपूर्ण समस्यालाई त्यत्तिकै छाडन कहाँ हुन्छ ?” तन्नेरी मुसाले कुरा काट्यो ।

“हामीभन्दा पहिले पनि यो विषयमा धेरै छलफल भइसकेको छ । बिरालोको घाँटीमा घण्टी बाँध्ने कोसिस गर्दा धेरै मुसा सहिद भइसकेका छन् । कथंकदाचित कोही सफल भए पनि बिरालोले धेरै दिनसम्म घाँटीमा घण्टी बाँधेर बस्दैन । चुँडालेर फालिहाल्छ । यसैले अब बिरालोको घाँटीमा घण्टी बाँध्ने योजना छाडिदिउँ भनेको हो ।” दाह्रीवाल मुसाले आफ्नो कुरा मनाउन खोज्दै भन्यो ।

यसैबीच एउटा दुब्ले मुसाले बिरालोको नक्कल गर्दै जोडले “म्याउँ” गर्यो । सबै मुसाका कान ठाडा भए । बिरालो आयो कि भनेर सबै मुसा चनाखा भए । अनि दुब्ले मुसाले ताली बजाउँदै सबैको ध्यान आफूतिर तान्यो र बिरालोको घाँटीमा घण्टी झुण्ड्याउने नयाँ उपाय सुनायो ।

दुब्ले मुसाको कुरा सुनेर धेरैजसो मुसाहरू हाँसे । उसको कुरा धेरैले पत्याएनन् । तर दुईचार मुसाहरूले उसको र्समर्थन गर्दै भने, “दुब्लेले भनेको उपाय एक पल्ट प्रयास गरे के बिग्र्यो र ?”

अनि एक दिन दुब्लेको योजना अनुसार मुसाहरूले ठूलो सभाको आयोजना गरे । सभाको प्रमुख अतिथिको रूपमा ढाडे बिरालोलाई निम्ता गरियो । टोलका अरु बिरालाहरूलाई पनि निम्तो पठाइयो ।

खिर खाने लोभले टोलका सबै बिरालाहरू मुसाहरूको सभामा भाग लिन आए । सभामा आएका बिरालाहरूलाई आयोजक मुसाहरूले स्वागत गर्दै मंचमा राखे । ढाडे बिरालोलाई प्रमुख अतिथिको आसनमा बसाले भने अरु बिरालाहरूलाई उनीहरूको बल र उमेर अनुसार मेलैसँग मंचमा आसन ग्रहण गर्न लगाए । मुसाहरूले गरेको सम्मान र सभाको प्रवन्ध देखेर बिरालाहरू मख्ख परे । दाह्रीवाल मुसाको सभापतित्वमा सभाको कार्यक्रम सुरु भयो ।

र्सवप्रथम दाह्रीवाल मुसाले ढाडे बिरालोलाई माला लाएर सम्मान गर्यो । त्यसपछि मेलैसँग अरु बिरालाहरूको सम्मान गरियो । यसैबीच दुब्ले मुसाले स्वागत भाषण गर्दै भन्यो, “यो एक्काइसौँ शताब्दी शान्ति र मित्रताको शताब्दी हो । शत्रुलाई मारेर खाने र पेट भर्ने जमाना गयो । मासु खान मन लाग्यो भने मानिसहरूले आफैले काटमार गर्दैनन् । होटलबाट झिकाएर खान्छन् । अब मुसा र बिरालोले पनि पुस्तौँको शत्रुता त्यागेर मिलेर बस्नर्ुपर्छ । यसैले हामी मुसा जातिले हाम्रा मित्र बिरालाहरूलाई मेलमिलापको आह्वान गर्दै यो सम्मानको कार्यक्रमको आयोजना गरेका हौँ ।”

दुब्ले मुसाको कुरा सुनेर मुसाहरू खुशी भए । बिरालाहरूले पनि ताली बजाएर र्समर्थन गरे । त्यसपछि मंचमा टेबुलमाथि किस्तीमा विभिन्न आकार प्रकार र रंगका घण्टीहरू सजाएर ल्याइयो । अनि सभापति दाह्रीवाद मुसाले उभिएर बिरालाहरूलाई अनुरोध गर्दै भाषण गर्न थाल्यो ।

उसले भन्यो, “एउटै घरमा बसे पनि आजसम्म हामी मुसा र बिरालाहरू आपसमा शत्रुता गरेर बसेका थियौँ । आजदेखि हामी मुसा जाति बिरालाहरूलाई परम मित्र सम्झने र सम्मान गर्ने घोषणा गछौँ र मित्र बिरालाहरूले पनि हाम्रो मित्रताको प्रस्तावलाई सम्मान गर्नु हुनेछ भन्ने हामीलाई विश्वास छ ।”

त्यहाँ उपस्थिति मुसा र बिराला सबैले ताली बजाएर मुसाहरूको घोषणाको स्वागत र र्समर्थन गरे । त्यसपछि दाह्रीवाल मुसाले बडो विनम्र भएर बिरालाहरूसँग अनुरोध गर्यो, “सम्माननीय मित्र बिरालाहरू हो । हामी मुसा जातिको यो घोषणाको चिनो र मित्रताको प्रतीकको रूपमा हामीले तपार्इँहरूका लागि सानो उपहार टक्र्याउन चाहन्छौँ । विश्वास छ यहाँहरूले हाम्रो यो प्रेमको चिनोलाई सँधै आफ्नो घाँटीमा सुशोभित गरेर हाम्रो मित्रतालाई सम्मानित र दिगो बनाउनु हुनेछ ।”

दह्रीवाल मुसाको कुरा टुँगिन नपाउँदै चिटिक्क सजिएका राम्रीराम्री मुसीहरूले एकएक वटा घण्टी लिएर अतिथि बिरालाहरूको घाँटीमा बाँधिदिए । पाहुना बिराला र उपस्थित मुसाहरू सबै प्रशन्न देखिए ।

त्यसपछि प्रमुख अतिथि ढाडे बिरालोले उभिएर भाषण गर्न थाल्यो । उसले भन्यो, “मित्र मुसाहरूले व्यक्त गर्नु भएको भावनाबाट हाम्रो पनि आँखा खुलेको छ । अब मित्रताको युग सुरु हुनेछ भन्ने कुरामा हामी ढुक्क छौँ । मित्र मुसाहरूले दिनुभएको यो सम्मान र उपहारको हामीले सम्मान गर्नेछौँ । यसलाई जीवनभरि आफ्नो घाँटीमा धारण गर्नेछौँ । बिरालो र मुसाबीचको मित्रतालाई दिगो बनाउन हामीले पनि कोशिस गर्नेछौँ ।”

ढाडे बिरालोको कुरा सुनेर मुसाहरूले घेरै बेरसम्म ताली बजाए र खुशी जनाए । कार्यक्रमको आखिरमा मुसाहरूले बिरालाहरूलाई पेटभरि खिर ख्वाएर बिदा गरे ।

दुब्ले मुसाको बुद्धि देखेर सबै मुसा दंग परे । उनीहरूले दुब्लेलाई काँधमा बोकेर टोलभरि घुमाए र मिठामिठा कुरा खान दिए । त्यस दिनदेखि बिरालाहरूले जहाँ जाँदा पनि घाँटीमा घण्टी झुण्ड्याएर जान थाले र मुसाहरू पनि निर्धक्क भएर घुम्न थाले ।