-विनय कसजू

“तिमीलाई कसैले बिरालो बनाइदिन्छु भन्यो भने बन्छौ ?” दुब्ले मुसाले मोटे मुसासँग सोध्यो ।

“किन नबन्नु ? सँधै बिरालोले मार्ला भन्ने डर र त्रासमा बाँच्नु भन्दा त बिरालो नै बन्न पाए त झन बेस भयो नि । तर कसले बनाउँछ हामीलाई बिरालो ?” मोटे मुसाले जान्न खोज्यो ।

दुब्लेले भन्यो, “एउटा साथी आएको छ । उसले भनेको हामी सबै मुसाहरु एक गठ भएर बिरालोसँग लडनु पर्छ । उसको हैकम तोड्नु पर्छ । बिरालो जति सबैलाई सखाप पार्नु पर्छ । अनि त हामीलाई बिरालोको डर नै हँुदैन । हामी सबै बिरालो जस्तै हुन पाउँछौँ ।”

“कुरा त तिम्रो साह्रै राम्रो हो । तर बिरालोजस्तो होइन बिरालो नै हुन पाए पो मज्जा हुन्थ्यो त । होइन र ?” मोटेले सोध्यो ।

“बिरालो नभएपछि हामी सबै जहाँ मन लाग्यो त्यहाँ गएर खाने कुरा खोज्न सक्छाँै । आफू खुशी घुम्न डुल्न सक्छाँै । यो भन्दा ठूलो के कुरा चाहियो र ?” दुब्लेले सम्झाउन खोज्यो ।

तर मोटे मुसाको चित्त बुझेन । उसले भन्यो, “आखिर मुसा नै भएर रछ्यान र दुलोभित्र खाने कुरा खोज्दै बाँच्नु छ भने किन बिरालोको विरोधमा लड्ने ? बिरालो नै भएर हैकम चलाउन र मुसा मारेर खान पाइन्न भने संघर्ष गरेको के काम लाग्यो ?”

उसको कुरा सुनेर दुब्ले मुसा छक्कै पर्यो, “होइन मोटे ! कस्तो कुरा गरेको तैँले । एक जातको बिरालोलाई सखाप पारेर अर्को जातको बिरालो ल्याउन हामीले संघर्ष गर्ने हो र ? बिरालो भन्ने जीव नै नरहेपछि हामी मुसा जातिलाई हाइसँचो भएन ? कस्तो कुरा नबुझेको तँैले ।”

“खै तँैले कुरा नबुझेको हो कि मैले ! तैँले नै अघि ।।।बिरालो बन्ने हो ?’ भनेर सोधेको होइन ?” मोटेले सोध्यो ।

“हो त्यो त ।” दुब्लेले जवाफ दियो ।

“पहिले बिरालो बन्न मन छ कि भनेर सोध्ने अनि अहिले बिरालो जति सबैलाई मासेर मुसा मात्रै बाँच्ने भन्ने कुरा गर्छाै । तिमीले नबुझेको हो कि मैले नबुझेको आफै भन त ।” मोटेले रिसाउँदै भन्यो ।

“त्यसो भए तँलाई बिरालो नै बन्ने रहर छ होइन ?” दुब्लेले उसलाई शान्त पार्न खोज्दै भन्यो ।

मोटेले आफ्नो मनको कुरा खोल्यो, “यत्तिका वर्षसम्म बिरालोको हैकम, अत्याचार सहियो । मुसा भएर अति दुःख कष्ट भोगियो । अब त मलाई बिरालै बन्न रहर छ । बिरालो भन्दा घटी मलाई केही बन्ने इच्छा छैन ।”

मोटे मुसाको कुरा सुनेर दुब्ले मुसा छाँगोबाट खसे जस्तै भयो ।