-विनयकुमार कसजू
मलाई बजैले काठामाडौँ लैजान्छु भनेको पोहोरै हो । तर यसपालीको दशैँमा त पक्कै लैजान्छु भनेकी छिन् । काठमाडौँ गएर रामुलाई भेट्ने मेरो ठूलो रहर छ ।
रामु मेरो सानैदेखिको साथी हो । म उसकै घरमा जन्मेर हुर्केको हुँ । मेरी आमाको पेटबाट एकै बेतमा हामी चार वटा पाठापाठी जन्मेका थियौँ । दुइटा निख्खुर काला थिए एउटा सेतो थियो । म भनेँ मृगजस्तो सुनौलो र बीचबीचमा सेतो टाटेपाटे थिएँ । मेरो निधारमा त्रिशुलजस्तै सेता तीन वटा धर्का थिए ।
रामुले मलाई निक्कै माया गर्थ्यो । मलाई बोकीबोकी मेरी आमाको छेउमा लैजान्थ्यो र दूध चुस्न लगाउँथ्यो । दूध ख्वाउन झिँजो लागेर आमा भाग्न खोजिन् भने रामुले समातेर मलाई दूध खान सघाउँथ्यो ।
हामी ठूला भएपछि एकएक वटा गरी बजै अर्थात् रामुकी हजुरआमाले अरु तीन वटालाई बेचिदिइन् । तर मलाई रामुले बेच्न दिएन । मलाई बेच्न खोज्यो की रामु मेरो घाँटीमा झुण्डिन्थ्यो र मलाई लैजान दिन्नथ्यो । धेरै पटक बजैले मलाई किन्न आउनेसँग लिएको बैना फर्काएकी थिइन् । त्यसपछि बजैले कहिल्यै मलाई बेच्ने कुरा गरिनन् ।
मलाई त्यस्तो माया गर्ने रामु काठमाडौँ गएको दुई वर्षभइसक्यो । रामु गएदेखि मेरो खेल्ने साथी नै छैन । बनमा भैँसी चराउन जाँदा रामुले मलाई पनि सँगै लैजान्थ्यो । हामी दिनभरि सँगै हुन्थ्यौँ । ऊ भैँसीको आङमाथि बसेर मैले घाँस खाइरहेको हेर्थ्यो । धेरै पटक उसले मलाई चितुवा र स्यालबाट जोगाएको छ । मसँग भुल्दा भैँसी खेतमा पसेर रामुले पिटाइ खानु परेको छ ।
एक पल्ट रामुले मलाई पनि भैँसीमाथि चढाउन खोज्दा भैँसी बिच्केर हामी दुबैको झण्डैले खुट्टा भाँचिएको थियो । चरिरहेको भैँसीमाथि रामु आरामसाथ सुतेको, भैँसीमाथि बसेर खोलामा नुहाइदिएको हेर्दा मलाई निक्कै मजा आउँथ्यो । त्यस्तो बेलामा म पनि खुशीले उफ्रन्थेँ । तर भैँसीको नजिक जान र पानीमा बुड्न मलाई डर लाग्थ्यो ।
गाउँका अरु केटाकेटीहरू स्कुल जान्थे, तर रामु स्कुल जान्नथ्यो । उसलाई स्कुल पठाउन कर गर्ने कोही थिएन । बजैलाई उसले टेर्दैनथ्यो । ऊ स्कुल गयो भने गोठका बस्तुभाउ हेर्ने कोही पनि हुँदैनथ्यो ।
दुई वर्षअघि रामुको मामा गाउँमा आएका थिए । भांजा पढाइमा नलागी गोठालो बनेको मामालाई कत्ति पनि चित्त बुझेन छ । उनले रामुलाई फकाईफकाई आफूसँगै काठमाडौँ लगे ।
रामु गएपछि म धेरै दिन रोएर बसेँ । तर पछि बानी पर्दै गयो । बजैले छिमेकीहरूसँग रामुको कुरा गरेको सुन्थेँ । रामुको मामाको काठमाडौँमा ठूलो घर छ रे । रामु स्कुलमा पढ्न थालेको छ रे । उसले अंग्रेजी बोल्न सिकिसक्यो रे । यस्ता कुरा सुन्दा मलाई खुशी लाग्थ्यो र कहिले ऊसलाई भेट्न पाउँछु होला भनेर कल्पन्थेँ ।
पोहोरको दशैँमा पनि ऊ घर आएन । बजै आफै मलाई लिएर काठमाडौँ जान्छु भनेको पनि जानसकिनन् । यस पाली पनि रामु दशैँमा घर नआउने खबर आएपछि बजैले मलाई लिएर जाने निधो गरिन् । मलाई काठमाडौँ जान पाएकोमा खुशी भएको देखेर मसँगै चर्ने मेरा दौँतरीहरू भन्थे, “काठमाडौँ गएपछि कोही पनि र्फकन्न रे” । म जान पाएकोमा इख गरेर यसो भनेका होलान् । डराएर नजाओस् भन्ने चाहेका होलान् । भन्नेले भनुन् ।
फूलपातीभन्दा केही दिनअघि बजैले काठमाडौँ जाने तयारी सकिन् । रामुको लागि सेल रोटी, कुराउनी र फलफूल तरकारीको भारी कसिन्, अनि एकदिन भरियालाई अघि लगाउँदै मलाई डोर्याँदै बजारतिर लागिन् ।
एक घण्टाजति हिँडेपछि बजार आइपुग्यो । बस स्टेसनमा पुगेपछि बजैले काठमाडौँ जाने बस कुन हो भनेर सोधिन् । टिकट किनिन् । भारी बसको छानामा राख्न लगाइन् । म बसभित्र जान निक्कै हतारिएको थिएँ । तर एक जना मानिस आएर मेरो बाटो छेक्दै भन्यो, “यो नाइट बसमा पनि कहाँ खसी बोकालाई बसभित्र राख्ने ? यसलाई त डिक्कीमा राख्ने हो ।”
त्यो मान्छेको कुरा सुनेर बजैले मेरो दाम्लो त्यो मानिसलाई दिइन् । उसले मलाई जबर्जस्ती डोर्याउँदै बसको पछाडि लग्यो र जुरुक्क बोकेर सामान राख्ने ठाउँमा राखिदियो । त्यहाँ मैले कहिल्यै नदेखेका, नचिनेका चारपाँच वटा खसीबोका थिए । तीमध्ये कसैका निक्कै लामा सिङ थिए भने कसैको दाह्री निक्कै लामो थियो । उनीहरू पनि दशैँ मनाउन काठमाडौँ जान लागेका रहेछन् ।
एक छिनपछि डिक्कीको ढोका बन्द गरियो र बाहिरबाट ताल्चा मारेको सुनियो । भित्र घोर अन्धकार भयो । बस हल्लियो र गुड्न थाल्यो । पहिलो पटक बसमा बसेकोले होला मलाई निक्कै डर लाग्यो । तर रामुलाई भेटन पाउने कुराले मेरो डर हरायो ।
पूरै रात बितेपछि हामी बसेको डिक्कीको ढोका खुल्दा विहानको उज्यालो देखियो । हामी काठमाडौँ आइपुगिसकेछौँ । बाहिर निस्कँदा जाडो भयो । मलाई लिन पक्कै पनि रामु आएको होला भन्ने मलाई लागेको थियो । बजैलाई लिन आएका रामुको मामालाई मैले चिनेँ । मामासँगै आएको ओँठमा जुँगाको रेखी बसेको एउटा केटोले बजैलाई हातमा ढोग्यो । ऊ रामु नै हुनुपर्छ भन्ने मलाई लागेको थियो । तर उसले मलाई अंगालो मार्न नआएकोले मलाई शंका लाग्यो । खेतका कान्लामा नांगै खुट्टा दगुर्ने रामु त्यो पक्कै पनि होइन किनकि त्यो केटाका खुट्टामा टल्कने जुत्ता थिए । भैँसीका आँगमा चढेर खोलामा नांगै नुहाउने रामुको जिउ कस्तो छ भन्ने मलाई राम्ररी थाहा थियो । तर त्यो केटाको जिउमा सुकिलो लुगा थियो । मतिर कर्के आँखाले हेर्दा पनि त्यो केटो मेरो प्यारो साथी रामु नै हो भनेर मैले अडकल नै गर्न सकिन ।
उसले मतिर औँल्याउँदै बजैलाई भन्यो, “किन ल्याउनु भएको यो तीन धर्केलाई ? कहाँ राख्ने यसलाई ? शहरमा घाँस पाइन्न, के ख्वाउने ?” उसको कुरा सुनेर म छाँगाबाट खसेझैँ भएँ । बजैले के जवाफ दिइन् मैलै सुन्न पाइन, सुन्ने मन पनि भएन । रामुले रिसले खुट्टा बजार्दै गरेको देखेँ । मलाई त्यहीँबाट गाउँमा फर्कुँजस्तो लाग्यो । तर र्फकने कसरी ? भागूँ भने मोटरले किच्ला भन्ने डर । कहाँ जाने ? मलाई काठमाडौँ आएकोमा पछुतो लाग्नथाल्यो । बाध्य भएर म रामुको पछिपछि लागेर उसको मामाको घरमा पुगेँ ।
मलाई हेर्न मामाको घरका केटाकेटीहरू आए । साना केटाकेटीहरू “खसी आयो, दशैँ आयो । रामु दाइको खसी आयो” मनेर कराए । मेरो ढाड छामेर मोटै रहेछ भन्दै रामुका मामा मुसुक्क हाँसे ।
“खसी त आयो तर यसलाई राख्ने कहाँ हो ? कसैलाई पाल्न दिनुपर्छ कि ?” रामुकी माइजुले मामातिर हेर्दै भनिन् । बजैसँग छुट्टिनु पर्ला भनेर मलाई डर लाग्यो ।
“खै, यो दशैँको बेलामा कसले पाल्छ र ! अफिसको पाले पनि छुट्टी लिएर घर गइसक्यो । अब जसोतसो यहीँ कतै राख्नुपर्ला ।” मामाले भनेको सुनेपछि म अलि ढुक्क भएँ ।
उनीहरूको कुरा सुन्दा मामाको घरभित्र म पस्नै नहुने हो कि जस्तो लाग्यो मलाई । भित्र के रहेछ भनेर हेर्न मन लाग्यो । ढोका नजिक गएर चियाएँ । भित्र भुइँमा कतै पनि ढुंगा, माटो वा इँट बिछयाएको रहेनछ । ढोकैदेखि बाक्लो लचकलचक लच्कने गलैँचा ओछ्याएको रहेछ ।
केही बेर छलफल गरेपछि ढोकाभित्र भरेङको छेऊमा गलैँचामाथि ठूलो प्लास्टिक ओछयाए मलाई भरेङको बारमा बाँधेर राखे । मलाई भोक लाग्न थाल्यो । तर त्यहाँ हरियो घाँस थिएन । गमलामा फूलहरूमात्र थिए । आगनमा सानो टुक्रा जमिनमा हरियो दुबोजस्तो घाँस देखेँ । काठमाडौँका मानिसहरू गुन्द्रीजत्रो जमिनमा भए पनि हजारौँ रुपैयाँ पर्ने अस्ट्रेलियन दुबो रोप्न पाउँदा आफूलाई भाग्यमानी ठान्छन् भनेको सुनेको थिएँ । सायद त्यो त्यही दुबो होला । मलाई त्यस्तो दामी दुबो खान दिने कुरा पनि भएन । अब कसरी भोक मेट्ने ?
राती सबैले खाना खाइसकेपछि मलाई पनि खाने कुरा ल्याइदिए ? दाल भात र उब्रेको तरकारी । मान्छेले खाने कुरा बोकाले कसरी खाने ? तैपनि भोकको सुरमा दुईचार गाँस खाएँ । रात छिप्पिँदै गएपछि मलाई भोकले चाप्न थाल्यो । गाउँको हरियो घाँस सम्झेर अनि भोकले आत्तिएर रुन कराउन थालेँ ।
म कराएकोले घरका मानिसहरू सुत्न पाएनछन् । रामुको मामाले तल ओर्लेर बत्ती बाले । भुइँभरि मेरो बर्क्यौला छरिएको, पिसापले गन्हाएको र गलैँचा भिजेको देखेर उनी चिच्याउन थाले, “हेर रामु, तिम्रो बोकाले त बर्बादै गरेछ । लौ यसलाई झट्टै बाहिर राख्नुपर्यो ।”
रामु पनि आँखा मिच्दै आइपुग्यो । उसले भरेङको बारमा बाँधेको मेरो दाम्लो फुकायो र मलाई तानेर बाहिर लग्यो । बाहिर रामु र म एक्लै भएपछि उसले मलाई माया देखाउला, मेरो कुरा सुन्ला भन्ने आशले म कराउन थालेँ । तर रामुले रिसाउँदै मलाई लात्तीले भकुर्न थाल्यो । म झन ठूलो स्वरले कराउन र रुन थालेँ । रामुले मोटो लौरो खोजेर ल्यायो र मलाई बेस्सरी पिट्न थाल्यो । मलाई पनि रिस उठयो । म पनि रामुमाथि जाइलागेँ । ऊ भुइँमा पल्टयो । उसको हातबाट मेरो दाम्लो छुटयो । यही मौका छोपी म त्यहाँबाट भागेँ ।
मलाई मेरो गाउँ जाने बाटो थाहा छैन । तर म भाग्दैछु । जसको गाउँमा भए पनि पस्दैछु । सहरदेखि सकेसम्म टाढा जाँदैछु र दशैँमा काठमाडौँ जान हुन्न भन्ने खबर जताततै पुर्याउन पाए अरु बोका खसीको भलो हुन्थ्यो भनेर आफ्नो कथा सुनाउँदैछु ।
२०५४ जेठ, २६ र २७ गते, दाङ, घोराही, पुनर्लेखनः २०५९ भदौ ३०
(कोपिला, कान्तिपुर बालकोसेली २०५९ असोज ११ मा प्रकाशित)