-विनय कसजू (२०५६।२।१३)
सप्ताहव्यापी पुराण चलिरहेको थियो । व्यास–आसनमा बसेका पुराणवाचक पण्डित बडा रसिक थिए । गणेश पनि उत्तिकै रमाइला देखिन्थे । दुबै जनाको हाउभाउले श्रोताहरु मख्ख पर्थे । पुराण सुनेको भारा लाग्छ भनेर भक्तजनहरुले पूजाको थालमा थरीथरीका प्रसाद ल्याउँथे ।
आँप फल्ने बेला भएको थियो । एक जना भक्तले भर्खर पाकेको ठूलो पहेँलो बम्बै आँप पूजाको थालमा सजाएर ल्याएको थियो । व्यास र गणेश दुबैजनाको आँखा एकैचोटि त्यो आँपमाथि प¥यो ।
व्यासले महाभारतको कथा सुनाउन थाले ।
“अनि भगवान श्रीकृष्णले कौमुदी शंख बजाउनु भयो” भन्दै उनले हात मुखमा लगेर शंख बजाएको अभिनय गरे । व्यासको सुरमा गणेशले पनि पूजाको थालबाट बम्बै आँप ट्याप्प टिपेर शंख बजाएको अभिनय गर्दै आँप जुठो पारे ।
यो देखेर व्यासले रिसले आँखा देखेनन् । “अनि भीमसेनले बज्र जस्तो कठोर गदाले दुर्याेधनको छातीमा प्रहार गरे ” भन्दै उनले गणेशको छातीमा मुक्का प्रहार गरे । व्यासको मुक्का लागेर गणेश ढलेको देखेर भक्तजनहरु “अनर्थ भयो, अनर्थ भयो” भन्दै व्यास र गणेशलाई छुट्याउन दौडे ।