-गौरव पोखरेल 

कसजू सफल लेखक बन्नलाई के गर्नु पर्ला ? भन्ने प्रश्नमा भन्छन्,  “पहिलो कुरा त अध्ययन नै हो । त्यसपछि अव्जर्भेसन,  भाषामा कमाण्ड, नियमित लेखन महत्वपूर्ण हुन्छ ।” 

आज भन्दा ५३ वर्ष अघि अर्थात् वि.स. २०१९ साल । नेपाली सञ्चार क्षेत्र वामे सर्दै गरेकै अवस्था । १५ वर्षे बालक तत्कालीन समयमा सञ्चार क्षेत्रमा देखिनु कल्पना बाहिरको कुरा ।

अधिकांश मानिसहरुको मानसपटलमा पत्रिका भन्ने वित्तिकै ‘गोरखापत्र दैनिक’ उब्जन्थ्यो । ‘रिडीको परिचय’ शीर्षकमा लेख छापियो ।

तत्कालीन समयमा काठमाडाैँको फर्पिङमा त्रिभुवन अादर्श माध्यमिक विद्यालयमा कक्षा ९ मा अध्ययनरत बालकको लेख छापिएको हो ।

त्यस बालकको लेखले गोरखापत्रको साप्ताहिक स्तम्भ जहाँ स्थानीय गाउँ/ठाउँको बारेमा वर्णन गरिन्छ त्यहाँ स्थान पाएको थियो । गोरखापत्रमा आफ्नो नाम देखेर उनी दङ्ग परे ।

झन् अभिभावक र छरछिमेकीको कुरा सुन्दा त ती बच्चालाई संसार जिते झैँ आभास भयो ।

यस्ता प्रतिभाशाली बालक थिए– विनय कसजू  । जसलाई अहिले ‘बालसाहित्य’ को क्षेत्रमा एउटा ‘ब्राण्ड’ नै मान्दा पनि फरक पर्दैन ।

त्यस समयमा कक्षा ६ देखि नै विद्यालय तथा गाउँ घरमा आयोजना हुने साहित्यिक कार्यक्रमहरुमा सक्रिय सहभागी हुने यी बालक अहिलेका एक कुशल लेखक, पत्रकार तथा सूचनाका हकका अभियान्ता पनि हुन् । उनले वि.स. २०६५ सालदेखि २०६८ सालसम्म अर्थात् ४ वर्ष प्रमुख सूचना आयुक्तको रूपमा समेत काम गरे ।

उनी झलनाथ खनाल सञ्चारमन्त्री भएको समयमा राष्ट्रिय समाचार समिति (रासस) का लागि सञ्चालक समिति सदस्य समेत भए । त्यस्तै, मनमोहन अधिकारी प्रधानमन्त्री भएको समयमा उनी नेपाल प्रेस काउन्सिलका लागि सल्लाहकार पनि भएका थिए ।

त्यसै गरेर, उनले उच्चस्तरिय मिडिया सुझाव आयोग र इन्सेकको सल्लाहकार जस्ता अन्य थुप्रै संघसंस्थामा रहेर पनि योगदान दिएका छन् ।

यस वर्षदेखि ६८ वर्ष टेकेका उनी अहिले पुस्तक लेखन, सम्पादन, बालसाहित्यसँग सम्बन्धित कार्यशाला लगायतका कार्यक्रममा व्यस्त छन् ।

ललितपुरको सानेपास्थित कसजूको कार्यालयमा यस पंक्तिकार उनलाई भेट्न पुग्दा उनी एउटा पुस्तकको तयारीमा व्यस्त थिए ।

सुनसान कोठा । चारैतिर पुस्तकै पुस्तक देखिन्थ्ये । एउटा कुनामा ठूलो कम्प्यूटर टेबल थियो  जहाँ कसजू केही सामग्री टङ्कन (टाइप) गर्नमै व्यस्त थिए ।

झापाको ठिटो म काठमाण्डौंमा ‘सूचनाको हकका लागि नागरिक अभियान’ ले आयोजना गरेको एक कार्यक्रममा सहभागी हुन पुगेको थिएँ । निक्कै पहिलेदेखि उनीसँग मेरो भेट गर्ने इच्छा भएको उनलाई मैले सामाजिक सञ्जाल तथा टेलिफोनमार्फत नै जनाइसकेको थिएँ ।

उनी पनि म भेट्न आउँदैछु भन्ने जानकारी दिएकोले गर्दा मलाई नै पर्खिरहेका रहेछन् ।

उनको नेपाली बाल साहित्यको क्षेत्रमा ३७ वटा पुस्तक प्रकाशित छन् । त्यस्तै, उनले पछिल्लो समय सामाजिक सञ्जालको बढ्दो प्रयोगलाई ध्यानमा राखेर ट्वीटर कथा सङ्ग्रह समेत प्रकाशित गरे ।

जहाँ उनले ट्वीटरमा ट्वीट गर्न सकिने ४० अक्षरको प्रयोग गरी नेपाली बाल साहित्यमा नयाँ शैला भित्र्याएका छन् । उनले हालसम्म ३५ बढि पुस्तकहरुको सम्पादन समेत गरिसकेका छन् ।

 कसजूकी आमा तारालक्ष्मी धार्मिक स्वाभावकी थिइन् । उनी भजन गाउन, रामायणको श्लोक पढ्न, हसना हुसेनको कथा सुनाउन माहिर थिइन् ।

उता, कसजूको विद्यालयमा पनि प्रत्येक साताको शुक्रबार साहित्यिक कार्यक्रमको आयोजना हुने गथ्र्यो । जसका कारण उनमा सानैदेखि साहित्यिक भावको विजारोपण हुन गएको बुझिन्छ ।

उनका बुबा मोतिकुमार भने रिडीका एक व्यापारी थिए । कसजूका बुबा कपडा, अन्न, तमाखु, नुन लगायतका सामग्रीहरु विक्री  गर्थे ।

कसजूले वि.स. २०४० सालदेखि पाल्पामा सत्य साप्ताहिकको प्रकाशन शुरु गरे । सो साप्ताहिकको ५ सय अङ्क प्रकाशन भयो । वि.स. २०५२ सालमा एउटा पत्रिकाको अङ्कलाई विदाई अङ्कका रुपमा प्रकाशन गरी बन्द गरिएको थियो ।

विनय कसजूको साथमा गौरव पोखरेल । 

 

सत्य पत्रिकाको २०४२ सालको तीज विशेषांकमा उनले सुस्केरा प्रगतिशील पत्रिकामा प्रकाशित एउटा  गीत प्रकाशन गर्दा उनलार्इ तत्कालीन राज्य व्यवस्थाको विरुद्धमा आवाज उठाएकाो अारोप लागेको थियो। उनलाई सरकारले राजकाज मुद्दा चलायो । केही  दिन हिरासतमा बस्नु पर्रयो ।  २०४६ – ०४७ सालको जनआन्दोलन सफल भएपछि उनको मुद्दा फिर्ता लिइएको तियो ।

उनकी पत्नी गंगादेवी कसजू पाल्पाको शिक्षक संगठनकी कोषाध्यक्ष थिइन् । शिक्षक आन्दोलन चर्किरहेको समयमा उनले पनि सो आन्दोलनलाई समर्थन गरी अनसन बसेकी थिइन् ।

मोफसलमा बसेर रम्दै गरेका यी कसजू वि.सं. २०५३ सालमा राजधानी छिरेका थिए । उनले राजधानीमा आएर आफ्नो पत्रकारिता तथा पुस्तक लेखनको कार्यको गतिलाई झन् तीब्रता दिए ।

उनले नेपाल प्रेस इन्स्टीच्यूटका लागि ट्रेनिङ कोअर्डिनेटर भएर पनि काम गरे । उनी त्यस इन्स्टिच्यूट मार्फत रेडियो तथा भित्तेपत्रिकासँग सम्बन्धित तालिम दिन्थे । जसको सिलसिलामा उनी नेपालको ४० जिल्ला घुमे ।

त्यस पछि उनले विभिन्न तालिम लिने, दिने अनुसन्धानको क्रममा विभिन्न देशमा घुम्ने अवसर पाए । उनी बैंकक, बंगलादेश, अमेरिका, स्वीडेन, डेमार्क, जर्मन, फ्रान्स लगायतका देश घुमी सकेका छन् ।

स्वीडेनको लोकतन्त्रको विषयमा अध्ययन गर्दै त्यहाँ गएको १२ जना नेपाली पत्रकारहरुको टोलीमा उनी पनि थिए । त्यहाँ जाँदा उनी लागयतको टोलीले स्वीडेनका विद्यालयमा सूचना प्रविधि र नेपाली सञ्चारमाध्यमको स्थिति र जनयुद्धको बारेमा छलफल समेत गरेको थियो ।

त्यस्तै, संसारका विभिन्न देशहरुबाट इन्टरनेटको स्वतन्त्रताको विषयमा आयोजित अन्तर्राष्ट्रिय सम्मेलनमा पनि भाग लिने उनले मौका पाएका छन् ।

विशेषतः बालसाहित्य, सूचना प्रविधिले गरिबी हटाउने उपायसँग विश्लेषण गरिएका पुस्तक, प्रेस स्वतन्त्रताको विषयमा नयाँ नयाँ कोणबाट व्याख्या गरिएको पुस्तकहरुको अध्ययन गर्न रुचाउने यी कसजू सफल लेखक बन्नलाई के गर्नु पर्ला ? भन्ने प्रश्नमा भन्छन्,  “पहिलो कुरा त अध्ययन नै हो । त्यसपछि अव्जर्भेसन,  भाषामा कमाण्ड, नियमित लेखन महत्वपूर्ण हुन्छ ।”

उनले १९६५ सालदेखि निरन्तर दैनिकी लेख्दै आएको पनि सुनाए । सन् २००९ देखि कम्प्यूटरमै दैनिकी लेख्दै आएका कसजू बालबालिकाहरुलाई पनि दैनिकी लेख्ने बानी बसाल्न सुझाउँछन् ।

राति १० बजे सुत्ने र विहान ४ बजे उठ्ने गरेका कसजूका पुस्तकहरु अंग्रेजी, जापानिज, हिन्दी लगायतका भाषामा पनि अनुवाद गरिएका छन् ।

म्याउँ म्याउँ विरालो, स्पमाइल प्लिज, कान्छोको मोटर, मुसाको भागमा विरालो, मुसालाई दोसल्ला, वनको दमकल जस्ता बालबालिकाका लागि निक्कै रुचिकर पुस्तकहरु दिएका उनी अहिले लेख्नु भन्दा लेख्न सिकाउनुलाई महत्वपूर्ण ठानेर अरुलाई तालिम दिने तथा पुस्तक सम्पादनको कार्यक्रममा व्यस्त रहेको बताउँछन् ।

आफ्नो बाल साहित्यमा विशेष गरी जनवारहरुलाई पात्र बनाउने कसजूलाई तपाईंलाई जनवारहरुले मोहनी नै लगाए कि क्या हो ? भनेर सोध्दा उनले हाँस्दै भने, “जनवार त प्रायः सबैलाई मन परी हाल्छ नि । सबैलाई झै मलाई पनि मन पथ्र्यो । मैले जनवारहरुलाई पात्र बनउनुको कारण चाहिँ आफ्नो लेखलाई रुचिकर बनाउन हो । मान्छेलाई पात्र बनाउदा भन्दा पनि जनवारलाई बनाउदा लेख चाख लाग्दो हुन्छ र व्यङ्ग्य गर्न पनि सजिलो हुन्छ ।”

नेपालमा बाल साहित्यको समालोचना पछि परेको बताउने उनी अहिले नेपालको विकासका लागि सूचना र प्रविधिको विषयमा पुस्तक तयारी गर्दै छन् ।

बालबालिकाहरुका लागि थुप्रै रुचिकर पुस्तकहरु दिइसकेका यी कसजूलाई मैले साहित्यिक रचनाका लागि तपाईंलाई उपयुक्त ठाउँ कहाँ हो ? भनेर सोधें ।

उनले भने, “साहित्यिक रचनाका लागि मलाई कुनै विशेष ठाउँ चाहिँदैन । म जस्तो सुकै वातावरणमा पनि लेख्छु । भिडभाडले मलाई असर गर्दैन ।”

उनले फेरि सोही प्रसङ्गलाई जोडे, “कहिले काँहि शौचालय जाँदा पनि विचार फुर्छ । दौडिएर आएर लेखिहाल्छु ।”

कनकाई नगरपालिका, झापा

अन्नपूर्ण पोष्टमा प्रकाशितः २०७२, फागुन २

http://www.gauravpokharel.com/2016/03/blog-post_28.html