विश्व श्रव्यदृश्य सम्पदा दिवसको अवसरमा
श्रव्यदृश्य सामग्रीको संरक्षण राष्ट्रिय दायित्व
— विनयकुमार कसजू
श्रव्यदृश्य सामग्री (Audio Visual Documents) अर्थात् रेडियो र टेलिभिजनमा प्रसार हुने, सिनेमा हलमा वा भिडियोमा देखाइने, ग्रामोफोन, टेपरेकर्डर, सीडी, डीभीडी आदिमा रेकर्ड गरिएका सुन्ने र हेर्ने सामग्रीहरू अहिले आमसंचारका सर्वाधिक लोकप्रिय र प्रभावकारी सामग्रीहरू हुन् । आँखा र कान दुबैलाई आकर्षित गर्ने, निरक्षरहरूले पनि बुझ्न सक्ने यस्ता सामग्रीले एक्कइसौँ शताब्दीमा लिखित सामग्रीको ठाउँ लिँदैछ । साथै यसले मानिसको समाज र संस्कृतिमा पनि परिवर्तन ल्याउँदैछ ।
केही वर्षअघिसम्म फोटो खिच्न फोटोग्राफरकहाँ जानु पथ्र्यो । आफूसँग क्यामेरा भए पनि फोटो खिच्ने फिल्मको रोल किन्न र फिल्म धोएर फोटो प्रिन्ट गर्न पसलमा नगई सुखै थिएन । रंगिन फिल्म धुलाउन र प्रिन्ट निकाल्न सुरुसुरुमा बैँकक र भारतका सहर धाउनु पथ्र्यो । त्यस्तै गरी नेपाली संगीतकार र गायकहरूले गीत संगीत रेकर्ड गराउन पूरै टोली भारतको कलकत्ता पुग्नु पथ्र्यो । चलचित्र सुटिङ गरेपछि धुलाई र प्रिन्ट निकाल्न बम्बै पुग्नु पथ्र्यो । तर अहिले जोसुकैले पनि डिजिटल क्यामेराबाट जस्ताको तस्तै फोटो खिच्न, नाच गान, नाटक, कथा र हरेक घटनाको चलचित्र (भिडियो) खिचेर तत्कालै हेर्न, प्रदर्शन गर्न सक्छ । यस्ता श्रव्यदृश्य सामग्रीहरू तुरुन्तै इमेल र इन्टरनेटमार्फत् संसारको कुनै पनि ठाउँमा पठाउन सकिन्छ । यसरी श्रव्यदृश्य सामग्री उत्पादन, प्रशोधन, संरक्षण र वितरण गर्ने नया प्रविधिले मानिसमानिसबीच विद्यमान भाषा र संस्कृतिको पर्खाल भत्काउँदैछ ।
उहिले क्यामेराको फिल्ममा खिचिने फोटो, ग्रामोफोनको रेकर्ड र रिबनजस्तो टेप ( फितामा) मा भर्ने श्रव्यसामग्री, सिनेमाहलमा देखाइने चलचित्रको प्रविधि र माध्यम अहिलेको डिजिटल प्रविधिभन्दा बिल्कुलै भिन्न थियो । उहिलेको प्रविधिमा रासायनिक पदार्थ, विद्युतचुम्बकीय तरंग, ताप र प्रकाशकको सन्तुलित प्रयोग इत्यादि गरिन्थ्यो । त्यसरी उत्पादन गरिएका श्रव्यदृश्य सामग्रीहरू तापमानमा परिवर्तन र रासायनिक क्रियाका कारणले केही समयपछि धमिलिन, विग्रन र नष्ट हुन सक्छन् । यसैले तिनलाई जोगाएर राख्न विशेष प्रकारको वातानुकूलित तथा रासायन–अनुकूलित भाँडा वा कक्षमा राख्नु पर्ने हुन्छ । यो काम गाह्रो र खर्चिलो पनि हुन्छ । तर डिजिटल प्रविधिबाट श्रव्यदृश्य सामग्री उत्पादन र संरक्षण गर्न कुनै विशेष मेहनत वा धेरै खर्च गर्नु पर्दैन । यसैले पुराना हस्तलिखित तथा मुद्रित पुस्तक, फोटो तथा चलचित्रहरूलाई डिजिटल प्रविधिमा परिणत गर्ने काम संसारका विभिन्न देशमा भइरहेको छ, जसलाई डिजिटाइजेसन भनिन्छ ।
डिजिटल प्रविधि आउनुभन्दा पहिले पूरातात्विक तथा ऐतिहसिक सामग्री संरक्षण गर्नका लागि माइक्रोफिल्म बनाउने प्रविधि आएको थियो । नेपालको केशर पुस्तकालयमा भएका पुस्तकहरूको वर्षौ लगाएर माइक्रोफिल्म बनाइएका छन् । तर माइक्रोफिल्म बनाउन, त्यसलाई सुरक्षित राख्न र चाहेको बेलामा हेर्न सजिलो छैन । अब कुनै पनि पाठ्य तथा श्रव्यदृश्य सामग्रीलाई डिजिटाइज गर्न सकिने हुँदा अब माइक्रोफिल्मको ठाउँ डिजिटाइजेसनले लिँदै छ ।
पुरानो प्रविधिबाट सिर्जना गरिएका श्रव्यदृश्य सामग्रीहरू हेर्न वा सुन्नका लागि पुरानै यन्त्र उपकरण र प्रविधि चाहिन्छ । जस्तै ग्रामोफोनको रेकर्डमा भरेको गीत सुन्न ग्रामोफोन चाहिन्छ, सेलुलोइट फिल्ममा बनेको सिनेमा हेर्न त्यसलाई मिल्ने प्रोजेक्टर चाहिन्छ । अडियो वा भिडियो क्यासेट बजाउन वा हेर्न क्यासेट प्लेयर चाहिन्छ । तर त्यस्ता प्रविधि र यन्त्रउपकरण अहिले दुर्लभ र अप्रचलित भइसके । यसैले पनि ती सामग्रीहरूको संरक्षण नयाँ प्रविधिबाट गर्नु आवश्यक भएको हो ।
प्रेस काउन्सिल नेपालले नेपालमा धेरै वर्षका पुराना अखबारहरू डिजिटाइज गरेर सीडीमा उपलब्ध गराउने व्यवस्था गरेको छ । सिँगो कोठा र थुप्रै दराजमा अटाउने अखबार र पुस्तकहरू अब सीडी र डीभीडीमा अटाउन सकिन्छ । यस्तै धेरै रिल (चक्का) मा अटाउने सिनेमा प्लेटजत्रा डीभीडीमा अताउँछ । मदन पुरस्कार पुस्तकालयले पनि पुराना पुस्तक र फोटोहरूको डिजिटाइजेसन गरेर सुरक्षित गर्ने र सर्वसाधारणको पहुँचमा पुर्याउने काम गरिरहेको छ । फलस्वरूप दुर्लभ ऐतिहासिक फोटो तथा चलचित्रहरू सुरक्षित छन् र केही वेबसाइटमा पनि हेर्न सकिन्छ ।
विदेशका राष्ट्राध्यक्षहरूको नेपाल भ्रमण, तत्कालीन युवराज महेन्द्रको विवाह तथा विदेश भ्रमण वीरेन्द्रको राज्याभिषेक एवं नेपालको इतिहास र संस्कृतिसँग सम्बन्धित विशेष अवसर र घटनाका चित्र, चलचित्र, श्रव्य सामग्रीहरू अहिले कुन अवस्थामा छन् भन्ने कुरा धेरैलाई थाहा छैन । महाकवि लक्ष्मीप्रसाद देवकोटा, कविशिरोमणी लेखनाथ पौड्याल आदि राष्ट्रिय विभूतिहरूले बाचन गरेका कविता, पहिलो जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाका भाषण आदि अनेकौँ श्रव्य समग्रीहरू रेडियो नेपालमा होलान् । तिनको संरक्षण गर्ने र आमजनताको पहुँचमा पुर्याउने अब एकमात्र उपाय हो ती सामग्रीको डिजिटाइजेसन । यो काम गर्न जति ढिला भयो उति ती सामग्रीको गुणस्तर घट्दै जान्छ र केही वर्षमा नष्ट हुन्छ ।
नेपालका ऐतिहासिक महत्वका पुरानो प्रविधिबाट उत्पादन गरिएका श्रव्यदृश्य सामग्रीहरू मानिसको बेवास्ता, आगो, पानी, भूकम्पजस्ता प्रकोप, संरक्षण गर्ने स्रोतसाधनको कमी तथा रासायनिक तथा तापीय प्रतिकूल अवस्था आदिले गर्दा नष्ट भइरहेका छन् । नष्ट भएपछि यस्ता सामग्री फेरि सिर्जना गर्न सकिँदैन । यो नोक्सानी राष्ट्रको मात्र नभएर विश्वको सांस्कृतिक सम्पदाको नोक्सानी हो ।
यसैले संयुक्त राष्ट्रसंघको शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संघ, युनेस्कोले विश्वभरि श्रव्यदृश्य सामग्रीको संरक्षण गर्ने चेतना फैलाउन सन् २००५ मा अक्टोवर २७ को दिनलाई विश्व श्रव्यदृश्य सम्पदा दिवसको रूपमा मनाउने निर्णय गर्यो । त्यही मेसोमा यस वर्षको विश्व श्रव्यदृश्य सम्पदा दिवसको नारा छ ः “आफ्नो श्रव्यदृश्य सम्पदाको संरक्षण र आस्वादन गर्नुहोस् ।”
नेपालका ऐतिहासिक, सांस्कृतिक तथा राष्ट्रिय महत्वका श्रव्यदृश्य सामग्रीहरू सुरक्षित
रहनु पर्ने केही महत्वपूर्ण र जिम्मेवार निकायहरूमध्ये चलचित्र संस्थान, रेडियो नेपाल, नेपाल टेलिभिजन, पूरातत्व विभाग आदि पर्छन् । तर ती निकायमा भएका कतिपय सामग्री दरबारमा लैजाने तर नफर्कने परम्परा बसेको हुँदा धेरै श्रव्यदृश्य सामग्रीहरू नारायण हिटी दरबारमा हुनुपर्छ भन्ने जानकारहरूको भनाइ छ । राजतन्त्र समाप्त भएपछि ती सामग्री कहाँ र कुन अवस्थामा छन् भन्ने यकीन जानकारी सार्वजनिक गरिएको छैन । यदि ती सामग्री त्यहाँ छन्
भने तिनको नयाँ प्रविधिबाट संरक्षण गर्नुपर्छ र छैनन् भने त्यसको खोजी गरिनु आवश्यक छ । किनकि ती यस्ता राष्ट्रिय सम्पदा हुन् जसको पुनःसिर्जना गर्न सकिँदैन । भविष्यको पुस्ताले तिनको आस्वादन गर्न पाउनु पर्छ
नेपाली श्रव्यदृश्य सामग्रीको सम्पदा दरबार र सरकारी निकायहरूमा मात्र सीमित छैन
। निजी क्षेत्रका कतिपय व्यक्ति र संस्थाले पनि त्यसको उत्पादन गरेका छन् । चाडपर्व, जात्रा,
सामाजिक, सांस्कृतिक उत्सव र घटनाहरू, प्राकृतिक प्रकोप तथा राजनीतिक घटनाका श्रव्य र दृश्य सामग्रीहरू कतिपयले शौखको रूपमा त कतिले व्यवसायको रूपमा पनि बनाउने गरेका छन् । ती पनि राष्ट्रका ऐतिहासिक महत्वका सम्पदा बनिसकेका छन् । तिनको पनि संरक्षण हुनु आवश्यक छ ।
नेपालमा ध्वनि र चलचित्र रेकर्ड गर्ने प्रविधिले प्रवेश गरेदेखि श्रव्य र दृश्य वा श्रव्यदृश्यका रूपमा पुरानो प्रविधिबाट तयार भएका सामग्रीहरूको राष्ट्रिय महत्व छ । तर प्राकृतिक, प्राविधिक तथा मानवीय कारणले गर्दा ती सामग्रहरू नष्ट हुने खतरामा परेका छन् । यदि दशदेखि पन्ध्र वर्षभित्र तिनीहरूको संरक्षण गरिएन भने ती सामग्री सँधैका लागि लोप हुने छन् । यो अपूरणीय क्षतिलाई रोक्न राज्य, नागरिक समाज र सबै सचेत व्यक्ति लाग्नु आवश्यक छ । खतरामा परेका श्रव्यदृश्य सामग्रीहरू पत्ता लाग्ने बित्तिकै त्यसको संरक्षण गर्न सचेत नागरिकहरू तत्पर भइहाल्नु पर्छ । साथै देशभरि फैलिएका यस्ता सम्पदालाई जोगाउने काम व्यवस्थित रूपले गर्न राज्यले नीति, योजना र स्रोत साधन जुटाउनु आवश्यक छ । यो काममा हामी चुक्यौँ भने सात सालको क्रान्तिलगायतका गौरवमयी राष्ट्रिय घटनाका श्रव्यदृश्यहरू, जो अहिलेका पुस्ताका आँखामा झलझली नाचिरहेका छन्, हाम्रो भावी पुस्ताले हेर्न पाउने छैनन् ।
Monday, October 25, 2010
अन्नपूर्णपोष्ट दैनिकमा २७ अक्टोवर, २०१० मा प्रकाशित ।