तानसेनमा जन्मे पनि गुल्मीको रिडीमा मेरो बालककाल बित्यो । कालीगण्डकी र रिडी खोलाको सङ्गम हुनाले पनि रिडी निकै सुन्दर थियो । ठूला मान्छे कालीगण्डकीमा र हामी सानाहरू रिडीखोलामा पौडी खेल्थ्यौँ । मानिसहरू खोलाको गहिरो रहमा बम हानेर माछा मार्थे । हामी माछा खोज्थ्यौँ । गुरुले चाहिँ पौडी खेलेको थाहा पाए सजाय दिनुहुन्थ्यो ।

एकदिन दिउँसो श्यामकुमार दाइ र म पौडी खेलिरहेका थियौँ । मैले डुबुल्की मारेर एउटा माछा समातेँ र बाहिर निस्कँदै “यी माछा…” भनेर चिच्याएँ । मेरो अगाडि त कृष्णचन्द्र गुरु ठिङ्ङ उभिनुभएको रहेछ । गुरु आएको चाल पाएर दाइ भागिसक्नु भएछ । म गुरुको डर र लाजले नीलो–कालो भएँ । गुरु केही नभनी जानुभयो । भोलि प्रार्थना सभामा पिटाइ खाने भइयो भनेर म खुब डराइरहेको थिएँ तर भोलिपल्ट गुरु आउनु भएन र म बँचेँ ।

मैले रिडी खोलाको बगरमा एक पटक चङ्गा उडाइरहेको थिएँ । सिसाको माजा हालेको धागो मेरो हातैबाट स्वार्र तानियो । बुढी औँला र चोर औँलाको बीचमा धागोले काटेर तरर रगत बग्यो । त्यसपछि मैले चङ्गा उडाउनै छाडिदिएँ ।

मेरा बुबा व्यापार गर्नुहुन्थ्यो । रिडीमा हाम्रो कपडा पसल थियो । व्यापार गरे पनि हाम्रो घरमा केही बोकाहरू पालिएका हुन्थे । दसैँको बेलामा गन्हाउने बोका घरमा हुन्थ्यो । दसैँको लागि किनिएको बोका चराउन म रिडी खोलाको बगरमा जान्थेँ । त्यो हनाहा बोकाले एकदिन मलाई खराम्ररी हान्यो । त्यसको तिखो सिङले मेरो खुट्टामा हाडै देखिने गरी घाउ बनाइदियो । म रोएर बसिरहेको थिएँ । पछि आमा आएर मलाई घर लैजानुभयो ।

त्यो बेला आवत–जावतमा घोडाको चलन थियो । हाम्रो पनि एउटा घोडा थियो । त्यो सेतो र सुन्दर घोडा मलाई खुब मन पथ्र्यो । एकपल्ट एक जना गाउँलेको विवाहमा जन्त जाँदा म त्यही सेतो घोडामा गएँ । अरू केही मानिसहरु पनि घोडा चढेर जन्त गएका थिए । एक जना छिमेकीले मेरो घोडा माग्यो । मैले दिन मानिनँ । त्यसपछि उसले मेरो घोडालाई पछाडिबाट लौरोले पिटेर दुःख दिन थाल्यो । अनि म जन्तीको सबैभन्जा पछाडि बस्न थालेँ । अरु पाचँ–सात ओटा घाडो अगाडि थिए । म सबैभन्दा पछाडि लागेर अलि छुट्टै तरिकाले हिडेँ ।

हामी गुल्मी जिल्लामा पर्ने शान्तिपुरसम्म जानु थियो । बडीघाट खोला तरेर जानु पथ्र्यो । खोलामा झोलुंगे पुल थियो । तर अगाडि गएका घोडाहरू झोलुंगे पुलमाथिबाट जान नमानेर पुल छेउमा रोकिएका थिए । मैले मेरो घोडालाई सरासर पुलतिर लगेँ । घोडा मजासँग पुलमाथि हिंड्न थाल्यो । त्यसपछि त्यहाँ रोकिएका सबै घोडा मेरो घोडाको पछि लागे । मलाई सँगै नहिँडाए पनि उनीहरूले मलाई पछ्याउनु प¥यो । मलाई मनमनै सन्तोष लाग्यो ।

त्यो सुन्दर र बलियो तिब्बती घोडा एकपटक जिल्लाका बडाहाकिमले लगेका थिए । उनले फिर्ता ल्याएको केही दिनमै त्यसको मृत्यु भयो । हामीलाई धेरै दुःख लाग्यो ।

रिडीमा केही वर्ष पढेपछि काठमाडौंको फर्पिङस्थित त्रिभुवन आदर्र्श स्कुलबाट मेरो पढाइ अघि बढ्यो । त्यहाँ श्री धरणीधर कोइराला, श्री फणीन्द्रराज खेतालालगायतका गुरुहरू हुनुहुन्थ्यो । उहाँहरूको प्रेरणा र सामीप्यबाट म साहित्यतर्फ डोरिएँ ।

स्कुलको वार्षिक उत्सवमा मैले “बेस्ट ब्वाय” पुरस्कार पाएँ । पुरस्कारमा टल्सटाय, गोर्की, चेखव र रवीन्द्रनाथ ठाकुरका पुस्तकहरू थिए । ती पुस्तक पढेर मैले थुप्रै नयाँ कुरा सिकेँ र साहित्यको स्वाद थाहा पाएँ । रवीन्द्रनाथ ठाकुरले लेखेको र श्री ऋद्धिबहादुर मल्लले अनुवाद गरेको “गोरा” नामको उपन्यास मलाई खुब मन पथ्र्याे । त्यसको प्रमुख पात्र गोरा थियो भने अर्को विनय थियो । त्यही विनयको नामबाट मैले आफ्नो नाम पनि विनय राखेँ । नत्र मेरो नाम बद्री थियो । बुबाआमाले बद्री केदार तीर्थयात्रा गरेको सालमा जन्मिएकाले मेरो नाम बद्री राखिएको रहेछ । तर त्यो नाम मलाई मन परेको थिएन ।

नाम बदलेको दिन पनि सम्झन लायकको छ । दसैं बिदामा बोर्डिङका धेरैजसो विद्यार्थी घर गएका थिए । मचाहिँ स्कुलमै थिएँ । प्रिन्सिपल धरणीधर गरुुलाई नाम फेरिदिन आगह्र गरेँ । पहिले त उहाले मान्नभुएन । पछि मैले जिद्दी गरेपछि मान्नुभयो । उहाँले मेरो हात उठाइदिनु भयो र “ल, विनय भयौ” भन्नुभयो र मेरा जुँगा नभए पनि मुसारिदिए जस्तो गर्नुभयो ।

पहिलो पटक कान्तिपुर कोपिलामा 11 कार्तिक 2062 मा प्रकाशित ।

‘सानो छँदा’, अनन्त वाग्लेद्वारा सम्पादित संग्रहको दोस्रो भागमा, वि.सं. 2074 मा प्रकाशित ।

यहाँ प्रकाशित गर्दा पहिले छापिएको टेक्स्टका केही शब्द थपघट गरिएका छन् ।