IT for Development (Articles in Nepali)
गाउँको विकासमा सूचना तथा संचार प्रविधि
- विनयकुमार कसजू
मानिसको पुर्खाले लठ्ठीले फलफूल झराल्न, पातले पानी उबाएर खान र रिस उठेको बेलामा ढुंगा टिपेर हिर्काउन थालेदेखि नै मानिसको विकासका लागि प्रविधिले महत्वपूर्ण भूमिका खेल्दै आइरहेको छ । मानिस र पशुहरूलाई छुट्टयाउने मुख्य तत्व प्रविधिको उपयोग गर्ने क्षमता हो । झण्डै चालिस हजार वर्षअघि ओढारको भित्तामा र ढुंगामा संकेत वा चित्र कोरेर मानिसले संचार प्रविधिको उपयोग गर्न थालेको हो । त्यस बेलादेखि नै मानव समाजको विकासको लागि सूचना र ज्ञानले प्रमुख भूमिका खेल्दै आएको छ
।
ज्ञान, जानकारी वा सूचना फैलाउने क्षमता बढ्नुको सँगै मानिसको चिन्तन र व्यवहारमा परिवर्तनको गति पनि बढिरहेको छ । कुनै समाज कति विकसित छ भन्ने कुरा त्यो समाजका सदस्यहरूले कति मात्रामा ज्ञान र सूचनालाई उपयोग वा उपभोग गर्छ भन्ने कुराले जनाउन थालेको छ । फलस्वरूप मानव सभ्यता द्रुत गतिले सूचना समाज (इन्फर्मेसन सोसाइटी) अर्थात् ज्ञानमा आधारित समाज (नलेज बेस्ड सोसाइटी) तिर उन्मुख हुँदैछ ।
मानव विकासको इतिहासलाई केलाउँदा समग्रमा के देखिन्छ भने मानिसले जंगली अवस्था पार गरेपछि कृषि युगमा प्रवेश गर्यो । कृषि युग हजारौँ वर्षम्म चल्यो । झण्डै पाँच सय वर्षघि औद्योगिक युग सुरु भयो । औद्योगिक युगमा ज्ञान संकलन र प्रसारणमा अभूतपूर्व विकास भएको फलस्वरूप मानव सभ्यताको विकासले ठूलो फडको मार्यो र झण्डै पचास वर्षअघि कम्प्युटरको विकासको सँगसँगै सूचना युगको प्रारम्भ भयो । मानव जीवनमा सूचना र संचारका प्रविधिले र्सवव्यापी भूमिका खेल्न थालेको र मानिसको आर्थिक, सामाजिक, सांस्कृतिक लगायत सबै पक्षमा यसले परिवर्तन ल्याउन थालेको हुनाले सूचना प्रविधिको यो युगान्तकारी विकासलाई सूचना क्रान्ति भनिएको हो
।
सूचना प्रविधिले मानिसको बाँच्ने, सोच्ने, सिक्ने, खेल्ने, बोल्ने, हिँडने, खाने, कमाउने, मनोरंजन गर्ने सबै तरिकालाई फेर्दैछ । कृषि क्रान्ति र औद्योगिक क्रान्तिले भन्दा पनि व्यापक मात्रामा सूचना क्रान्तिले मानव सभ्यताको विकासमा प्रभाव पार्दैछ । सूचना र ज्ञानलाई संकलन, प्रशोधन र प्रसारण गर्न यति छिटो, यति सजिलो, यति व्यापक, यति सस्तो र यति रमाइलो यसअघि कहिल्यै भएको थिएन । ज्ञानको हस्तान्तरण वा प्रसारणमा अब समय र दूरीको कुनै व्यवधान बाकी रहेन । वास्तवमा मानव जीवनका आर्थिक, सामाजिक राजनीतिक लगायत सबै क्रियाकलापलाई ज्ञानमा आधारित बनाउँदै सम्पूर्ण समाजलाई नै ज्ञानवान बनाउने क्रान्तिको थालनी हो यो । यसले मानिसको एउटै पुस्तामा पनि संस्कृति, चालचलन, चिन्तन र आर्थिक तथा सामाजिक व्यवहारमा पत्याउनै नसकिने परिवर्तन ल्याइरहेको छ ।
हाल विभिन्न देशले आफ्नो परिस्थिति र क्षमताअनुसार सूचना तथा संचार प्रविधिको उपयोग मुख्य रूपमा चार प्रकारले गरिहरेका छन् :
१ सूचना संचार प्रविधिको रूपमा : सूचना तथा संचार प्रविधिको उपयोग नेपालजस्तो विकासशील मुलकमा मुख्यरूपमा सूचनाको ओसारपसारको लागि भएको देखिन्छ । उदाहरणका लागि नेटवर्किङ गरेर वा इन्टरनेटको उपयोग गरेर शिक्षा, स्वास्थ्य, कृषि, मनोरंजन, उद्योग, वाणिज्य, पर्यटन आदि महत्वपूर्ण विषयका ज्ञान र सूचना संचार वा प्रसार गरेर, प्रशोधन तथा संकलन गरेर देश र समाजको आर्थिक, सामाजिक, सांस्कृति विकासमा महत्वपूर्ण काम हुन थालेका छन् । अधिकांश देशले सूचना प्रविधिको यही पक्ष वा भूमिकाको बढी उपयोग गरिरहेका छन् । यही पक्षलाई पर्याप्त मात्रामा उपयोग गर्न सके पनि देशको अर्थतन्त्र, शिक्षा, स्वास्थ्य, प्रशासन र सामाजमा धेरै उल्लेखनीय परिवर्तन ल्याउन सकिन्छ ।
२ सूचना प्रशोधन प्रविधिको रूपमा : नेपालमा अहिले भूमिसुधार विभागले नेपालभरका जग्गाजमिन, जग्गावाल र मोहीहरूको लगत तयार पार्दैछ । त्यो तयार भएपछि कुनै पनि मानिसको नाममा नेपालमा कति जग्गा, कस्तो जग्गा छ भन्ने कुरा तुरुन्तै थाहा पाउनसकिन्छ । जनगणना, कृषिगणनाजस्ता बेलबेलामा हुने राष्ट्रिय स्तरका कार्यक्रमका लागि मात्र होइन निर्वाचन आयोग, मन्त्रालयहरू, विभागहरू, बैंकहरू, गैरसरकारी संस्थाहरू तथा स्थानीय निकायहरूमा पनि धेरैथोरै मात्रामा भए पनि तथ्यांक र सूचनाको थुप्रो हुन्छ र तिनलाई उपयोग गर्न तिनको प्रशोधन गर्नुपर्छ । सूचना प्रविधिको विकास नभएको भए यो काम निकै मेहनत र धेरै महिना वा वर्षौँ लाग्थ्यो । तर अहिले लाखौँ विद्यार्थीको परीक्षाको नतिजा पहिलेभन्दा निक्कै कम समयमा निकाल्न र प्रसार गर्न सक्छ । विजुली र टेलिफोनको लाखौँ बिल र रसिद तुरुन्तै तयार हुन्छ । भौतिक स्रोतले विपन्न तर मानव स्रोतले सम्पन्न नेपालजस्तो देशका युवाहरूका लागि सूचना प्रशोधन गर्ने तालिम दिएर नेपालमै बसीबसी विश्वभरिका कम्पनीहरूको लागि काम गर्न र आकर्ष आम्दानी गर्ने बाटो खुलेको छ । यसरी घरमै बसीबसी विदेशको काम गर्ने गराउने कामलाई आउट सोर्सिङ भनिन्छ ।
३ यन्त्रउपकरण तथा सामग्री उत्पादनमा : कम्प्युटर, टेलिफोन रेडियो टेलिभिजन, डिजिटल क्यामेरा, प्रिन्टर, स्क्यानर, दूरसंचार प्रणाली, इन्टरनेट प्रणाली आदि संचालन गर्न चाहिने यन्त्र उपकरणदेखि भूउपग्रहसम्मका विभिन्न प्रकारका सामान उत्पादन सूचना प्रविधिको अभिन्न हिस्सा हो । जापान, अमेरिका, सिंगापुरजस्ता देशहरूको राष्ट्रिय अर्थतन्त्रमा यस्ता उपकरणहरूको उत्पादन र व्यापारले महत्वपूर्ण योगदान दिएको छ । सूचना प्रविधिको विकास, विस्तार र उपयोगमा वृद्धिसँगसँगै यस प्रकारको समग्री, हार्डवेयरको उत्पादन बढिरहेको छ । औद्योगिक मुलुकहरूको अर्थतन्त्र बिस्तारै सूचना प्रविधि सामग्रीको उत्पादनतिर बढदै गएको देखिन्छ । तर विकासशील देशहरूमा सूचना प्रविधिसँग सम्बन्धित यन्त्र उपकरणहरूको उत्पादन र निर्यात गरेर अर्थतन्त्र बलियो बनाउने संभावना कमै देखिन्छ ।
४ सफ्टवेयर/अभौतिक सामग्रीको उत्पादनमा : भौतिक सामान, यन्त्रउपकरण उत्पादनजस्तै अभौतिक, आँखाले नदेखिने तर ती यन्त्रउपकरणहरू संचालन गर्न नभइनहुने एप्लिकेसन प्रोग्रामहरू अर्थात् सफ्टवेयर को उत्पादन सूचना प्रविधिसँग संबंधित अर्को महत्वपूर्ण उत्पादन हो । सफ्टवेयरको उत्पादन र व्यापारले नै बिल गेट्सलाई बीस वर्षभत्र संसारकै सबैभन्दा धनाढय मानिस बनाएको हो । यो क्षेत्रमा अहिलेसम्म अमेरिकाकै वर्चस्व छ ।
सफ्टवेयर बनाउनका लागि फलाम, पेट्रोल, खनिजजस्ता भौतिक कच्चा पदार्थ र सडक, हवाइ तथा समुद्री यातायातको साधन चाहिँदैन । यसको लागि केवल दिमाग चाहिन्छ । दिमाग वा बौद्धिक क्षमता कुनै देशको निजी सम्पत्ती होइन । अहिले पनि कतिपय नेपालीहरू नेपालभित्रै बसेर सफ्टवेयर उत्पादन गर्ने काममा लागिरहेका छन् । कतिपय नेपालीहरू अमेरिकामा पनि नामी सफ्टवेयर कम्पनीमा काम गरिरहेका छन् । यसैले नेपालजस्तो उद्योगको लागि चाहिने स्रोत साधनविहिन र भूपरिवेष्ठित मुलुकका लागि यो सफ्टवेयरको उत्पादन निक्कै उपयुक्त, उपयोगी र धेरै आम्दानी हुने क्षेत्र हो । यो काम नेपालभित्रबाटै केही वर्षेखि भइ पनि रहेको छ । विकासशील देशहरूका प्रतिभाशाली युवाहरूको लागि यो क्षेत्र निक्कै आकर्ष र जीवन परिवर्तन गर्ने अवसर हो । विकासशील देशका मानिसहरूले सूचना प्रविधिको क्षेत्रमा केवल दिमाग लगाएर घरमा बसीबसी कमाउने अवसर र क्षेत्रहरू अनेक छन् । यसको लागि उपयुक्त पूर्वाधार र परिवेश हुनु आवश्यक छ ।
कुनै गाउँमा मोटर बाटो पुगेपछि मोटर हुनेहरू वा मोटर चढन सक्नेहरूमात्रै होइनन् नचढनेहरू पनि प्रभावित हुन्छन् त्यस्तै सूचना प्रविधिले यसको उपयोग गर्नेहरूलाई मात्रै होइन कम्प्युटर नै नदेखेका वा टेलिफोनमा कहिल्यै नबोलेकाहरूको जीवनलाई पनि प्रभावित पार्छ ।
सूचना तथा संचार प्रविधिले विपन्न समुदाय र राष्ट्रको सामु व्यापक अवसरहरू प्रदान गरेको छ । विश्वको सूचना र ज्ञानको भण्डारसमक्ष पहुँच पुर्याएको छ । सरकारको दक्षता, व्यापारीहरूको नाफा, शिक्षार्थीहरूको ज्ञान, व्यावसायिकहरूको कारोबार, किसान र साना उद्यमीहरूको बजार बढाउने अवसर दिएको छ । गैरसरकारी संस्थाहरूलाई स्थानीय आवाज विश्वसामु पुर्याउन सघाएको छ । दुर्गम तथा ग्रामीण क्षेत्रमा बस्ने विपन्न समुदायहरूलाई विकास र अर्थतन्त्रको मूलधारमा ल्याउन मदत गर्दैछ । तर यो नयाँ प्रविधिले सूचना र ज्ञानसमक्ष पहुँच भएका र नभएकाहरूबीच स्वास्थ्य, आर्थिक अवस्थालगायत धेरै कुरामा भेदभाव बढाउँदै पनि छ । त्यसैले सूचना र संचार प्रविधिमा पहुँच र त्यो प्रविधिलाई स्थानीय आवश्यकता अनुरूप ढाल्ने काम अब शोखको कुरा नभएर आवश्यकता बनिसकेको छ ।
सूचना प्रविधि, डिजिटल प्रविधि, साइबर प्रविधि, इन्टरनेट आदि विभिन्न नामले चिनिने यो नयाँ सूचना तथा संचार प्रविधिलाई यति धेरै क्षेत्र तथा काममा यति धेरै तरिकाले उपयोग गर्न सकिन्छ कि अहिले त्यसको अनुमानमात्र गर्नसकिन्छ । यसलाई लोककथाको सेतो भूतसँग दाँज्नु बेसा होला । त्यो भूतलाई वशमा पार्न सकियो भने त्यसबाट मनले चाहेको काम गराउनसकिन्छ भनिन्थ्यो । सूचना प्रविधि त्यो काल्पनिक भूतभन्दा पनि कामलाग्ने छ । तर यसबाट अहिलेसम्म जेजति काम लिइएको छ वा काम लिन सकिन्छ भनेर कल्पना गरिएको छ त्यो त यसको वास्तविक उपयोगिता वा क्षमताको साह्रै सानो हिस्सा हो भनी वैज्ञानिकहरू भन्छन् ।
ग्रामीण विकासमा सूचना प्रविधिको भूमिका
विकासशील देशमा ८० प्रतिशतभन्दा धेरै मानिस गाउँमा बस्छन् । शहरको तुलनामा गाउँमा खानेपानी, शिक्षा र स्वास्थ्य, सरसफाइ, सुरक्षा, पोषण र खाद्यान्नजस्ता आधारभूत आवश्यकताहरूको प्रायः कमी हुन्छ । सुविधाको खोजीमा मानिसहरू गाउँबाट शहरतिर ओइरिन्छन् । गाउँ रित्तिँदा एकातिर शहरको अवस्था बिग्रन्छ अर्कोतिर कृषि, बन, जलस्रोतलगायतका प्राकृतिक स्रोत र साधनको उचित उपयोग र संरक्षण हुन सक्तैन । साथै परम्परागत ज्ञान, प्रविधि र सीप, संस्कृति, भाषा तथा महत्वपूर्ण मानव संसाधनको विस्थापन र लोप पनि हुनजान्छ । समस्याको यो श्रृंखलालाई कम गर्न कृषि उत्पादन बढाउन सूचना प्रविधिले सघाउन सक्छ भने कृषिका लागि आवश्यक सामग्री, कृषि बजार, तथा आधारभूत आवश्यकता पूरा गर्न सघाउने सूचना र ज्ञान सजिलो, सस्तो र प्रभावकारी रूपमा पाउनको लागि सूचना प्रविधिले महत्वपूर्ण भूमिका खेल्न सक्छ । वास्तवमा गाउँको विकासको लागि सबैभन्दा सस्तो, दिगो र सजिलो लगानी ज्ञान हो ।
सूचना तथा संचार प्रविधिले गाउँलेहरूलाई निम्नलिखित क्षेत्रमा फाइदा पुर्याउनसक्छ ः
निर्णय प्रक्रिया : गाउँमा बाटो कुलो बनाउने, स्थानीय सरकार चुन्नेदेखि लिएर संसदमा प्रतिनिधि रोज्नका लागि समेत सही, उपयोगी, सान्दर्भिक र ताजा सूचनाको आवश्यकता हुन्छ । त्यस्तै गाउँलेको जीवनका आर्थिक सामाजिक पक्ष र भविष्यलाई प्रभावित पार्ने कतिपय योजना, आयोजना र निर्णयहरू गाउँलेहरूले नै लिनुपर्ने हुन्छ । सूचना प्रविधिले छिटो र सजिलोसँग र्सवांगपूर्ण, समसामयिक र खोजेको सूचना र ज्ञान उपलब्ध गराएर गाउँलेहरूलाई सही र ठोस निर्णय गर्न सघाउँछ ।
बजारको जानकारी : किसानहरूले आफ्नो उत्पादनको बजार खोज्न, प्रदर्शन गर्न र राम्रो मोल पाउन पत्रपत्रिका, फ्याक्स र टेलिफोनभन्दा सूचना प्रविधि बढी उपयोगी हुन्छ । गाउँका कारिगरहरूले पनि स्थानीय उत्पादनको विश्व बजार पाउनसक्छन् ।
गाउँले जनताको सशक्तीकरण : गाउँलेहरूको आवाज, विचार, भावना व्यक्त गर्ने अवसर दिएर गाउँलेहरूलाई आत्मविश्वास, आत्मसम्मान दिन्छ र बलियो बनाउँछ । फलस्वरूप विकास प्रक्रियामा सघाऊ पुग्छ । गाउँलेहरू बोल्न थालेपछि स्थानीय निकायदेखि नीति निर्णय तहसम्म प्रभाव पर्छ, सुशासन बढने र प्रजातन्त्र बलियो हुने सम्भावना बढ्छ ।
सुविधाविहीन/पाखापरेका समुदायहरूलाई लाभ : सुविधाविहीन वर्ग, खास गरी बालबालिका, महिला, अपांग, दलितहरूको लागि काम गर्ने संस्थाहरू, विकास, प्रजातन्त्र र मानवअधिकारको लागि लडिरहेका संघसंस्थाहरूमार्फत उनीहरूले अप्रत्यक्ष रूपले फाइदा पाउँछन् ।
रोजगारीको अवसर : गाउँमा टेलिसेन्टर वा त्यस्तै खालको सूचना केन्द्र भयो भने तिनले गाउँलेहरूलाई शिक्षा र रोजगारी लगायत विविध अवसर, सेवा र सामानको सूचना दिन्छन् । गाउँका युवाहरूले रोजगारी पाउने अवसर बढ्छ । केन्द्र आफैले पनि सीपमूलक तालिमहरू संचालन गरेर स्वरोजगारको अवसर सिर्जना गर्नसक्छ ।
मानव विकासको लागि सूचना तथा संचार प्रविधिको उपयोगिता र प्रभाव स्पष्ट हुँदाहुँदै पनि यो कुरा बिर्सनु हुँदैन कि कुनै पनि प्रविधिको मानव समाजका सबै अंगले समान रूपमा लाभ पाउन सक्तैननन् । केही अंग पाखा पर्छन् । प्रविधि स्वयं कुनै समस्याको समाधान होइन । त्यसलाई कसरी र कसको हितमा उपयोग गरिन्छ भन्ने कुरा निर्धारण गर्ने त मानिसले सिर्जना गरेको राजनीतिक, आर्थिक तथा सामाजिक व्यवस्थाले नै हो । यसैले सूचना प्रविधिबाट लाभान्वित हुनका लागि पनि मानव क्षमताको विकासका साथै अनुकूल राजनीतिक, आर्थिक तथा सामाजिक परिस्थितिको आवश्यकता पर्छ ।
धन्यवाद ।
(टिप्पणी : यो लेख बुटवलमा २०६३ माघमा आयोजित सूचना प्रविधि मेलाको सन्दर्भमा प्रकाशित पत्रिकाको लागि लेखकद्वारा आफ्नै पुस्तक "सूचना प्रविधिको शक्ति र नेपालमा यसको उपयोग" को आधारमा तयार पारिएको हो ।)
Back |