IT for Development (Articles in Nepali)
परिवर्तनका लागि मोबाइल फोन
विनय कसजू
अहिले विश्वको आधाभन्दा धेरै जनसंख्याले मोबाइल फोन प्रयोग गरिरहेका छन् । अर्थात् मोबाइल फाने प्रयोगकर्ताहरूको संख्या तीन अरब नाध्यो । दुई वर्ष अघिसम्म यो संख्या दुई अरबजति थियो । नेपालमा पनि मोबाइल फोन प्रयोगकर्ताको संख्या २० प्रतिशत पुग्न लागेको छ । गएको चैतमा डोल्पा जिल्लामा सीडीएमए प्रणालीको मोबाइल फोन सेवा सुरु भएपछि नेपालका सबै जिल्ला मोबाइल फोनको सम्पर्कमा आएका छन् । चार हजारमध्ये साढे तीन हजार गाउँ विकास समितिमा सीडीएमए मोबाइल फोन पुगेको छ ।
विश्वव्यापी रूपमा भइरहेको मोबाइल फोनको वृद्धिलाई विस्फोटक भन्नु नै उपयुक्त होला । औद्योगिक देशहरूमा भन्दा विकासशील देशहरूमा मोबाइल फोन प्रयोग कर्ताको संख्या दुई गुना छ । यसको वृद्धि औद्योगिक देशहरूमा भन्दा विकासशील देशहरूमा धरै र द्रुत गतिले भइरहेको छ । यसबाट पनि मोबाइल फोन विपन्नहरूको साधन हो भन्ने साबित भएको छ ।
सूचना तथा संचार प्रविधिलाई आमजनताको हितमा कसरी प्रयोग गर्न सकिन्छ भन्ने विषयमा धेरै वर्षम्म बहस चल्यो तर अहिले मोबाइल फोनको रूपमा नयाँ सूचना तथा संचार प्रविधिले अनगिन्ती तरिकाले विकासशील देशका विपन्न जनतालाई फाइदा पुर्याउन थालेको छ । यदि नेपालमा मोबाइल फोनको लोकप्रियता र माग यही गतिले बढने हो भने पाँच वर्षन्दा थोरै समयभित्र आधा नेपालको जनसंख्याले मोबाइल फोन प्रयोग गर्न थाल्ने छ ।
मोबाइल फोनको प्रयोग गर्दा हुने फाइदाको अनुभव नयाँनयाँ भएको हुनाले यसको विधिवत अध्ययन हुन बाकी नै छ । तापनि अहिलेसम्म देखिएका केही मुख्य फाइदालाई अध्ययन गर्दा मोबाइल फोनका लाभहरूलाई यसरी छुट्याउन सकिन्छः
छिटो सजिलो र सस्तोः मोबाइल फोनको प्रयोगले अहिलेसम्म गरिआएका काम झन छिटो, सजिलोसँग र सस्तोमा हुन थालेको छ । कुनै कुरा बुझ्न लामो र कठिन यात्रा गर्नु परेन । खर्च, श्रम र समय पनि जोगियो । घरमै बसेर बजारमा आफूले किन्ने र बेच्ने सामानको भाउ थाहा पाइने र मोलतोल गर्न सकिने भयो । यसरी आम्दानी पनि बढ्ने र खर्च घटने भयो । किसानहरूले सोझै पसलेसँग आफ्नो उत्पादनको भाउताउ गरेर मात्रै बजारमा लैजाने भए । बीचका व्यापारीबाट ठगिनु परेन । उनीहरूको बार्गेनिङ क्षमता बढ्यो । बाढी, पहिरो, भूकम्प, दुर्घटनाको समाचार तुरुन्तै थाहा भएपछि उद्धार कार्य पनि छिटो र प्रभावकारी ढंगले गर्न सकिने भयो । बिरामीले बेलैमा उपचार पाउने भयो । दैनिक ज्यालादारीमा काम गर्ने प्लम्बर, सिकर्मी, डकर्मी, बिजुली फिटिंग लगायत विभिन्न काम गर्नेहरूलाई केवल मोबाइल फोनको भरमा सर्म्पर्क गरेर काम र जागिर खान सजिलो भयो ।
सेवा, काम, सोच र व्यवहारमा परिवर्तनः अब मोबाइल फोन पहिलेको फोन जस्तो कुराकानी गर्नमा मात्रै सीमित रहेन । मोबाइल फोनले गर्दा अहिलेसम्म सरकार र विभिन्न निकायबाट पाइरहेका सेवा, बस्तु र अवसर अब नयाँ तरिकाले पाउन सकिने भएको छ । यसका प्रमाणहरू भर्खरैभर्खरै पाइन थालेका छन् । मोबाइल फोनले मनोरंजन, खेलकूद वा र्सार्वजनिक कार्यक्रम वा कार्यस्थलमा प्रवेश गर्ने प्रवेशपत्र वा टिकटको काम गर्न थालेको छ । यसको पछिल्लो उपयोग मोबाइल बैंकिङको रूपमा हुन सुरु भएको छ । यदि मोबाइल बैंकिग सफल भयो भने बैँकमा पहुँच नभएका करौडौँ मानिसहरूको आर्थिक कारोवार सहज र सरल हुने छ ।
मोबाइल फोनसम्बन्धी व्यवसाय र सेवामा वृद्धिः नेपालमा दैनिक पाँच सय जनाको मोबाइल फोन हराउने गर्छ र यसको विक्री उत्तिकै बढेको छ । साथै मोबाइल फोन ब्रि्रेर मरमत गर्ने, त्यसमा रिङटोन, संगीत भर्नेजस्ता विभिन्न सेवा पुर्याउने ज्यासलहरू टोलटोलमा खुल्न थालेका छन् । रिचार्ज कार्ड बेचेर फुटकर पसलेहरूले समेत आम्दानी बढाइरहेका छन् । बंगलादेशमा महिलाहरूले संचालन गरेको मोबाइल फोन कार्यक्रमले त्यहाँका लाखौँ महिलाहरूको जीवनस्तर माथि उठेको उदाहरण विश्वमै चर्चित छ ।
नकारात्मक प्रयोगः कुनै पनि प्रविधि आफैमा तटस्थ हुन्छ । त्यसको सदुपयोग र दुरूपयोग प्रयोगकर्तामाथि भर पर्छ । मोबाइल फोनको प्रयोग गरेर बैँक लुट्ने, अपहरण गर्ने फिरौती रकम माग्ने आदि अनेकौँ विकृतिहरू पनि देखिएका छन् । उपयुक्त ऐनकानुन र सुरक्षाका उपायबाट यस्ता दुरूपयोगहरूबाट जोगिन सकिन्छ । केही मुलुकमा मोबाइल फोनको प्रयोग लैंगिक असमानता बढाने, सुविधाभोगीहरू झन सुविधासम्पन्न बन्ने, पतिले पत्नीलाई नियन्त्रण गर्ने, महिला झन पीडित हुने, चियोचर्चा, शंका र वैमनस्य बढाउने काममा पनि प्रयोग भएको चर्चामा आएको छ । तर मोबाइल फोनको दुरूपयोगभन्दा सदुपयोग नै धेरै बढी छ । गरिबी हटाउने, काम र जागिरको अवसर बढाउने, स्वास्थ्य, कृषि, अर्थतन्त्र, समतामूलक समाजको सिर्जनमा मोबाइल फोनले अभूतपूर्व काम गर्न थालेको छ ।
मोबाइल फोनको प्रवर्द्धनका लागि उपयुक्त नीति र कार्यक्रमः सूचना र ज्ञानबिना गरिब मुलुकहरूले विकास गर्न सक्तैनन् । सूचना र ज्ञानमा पहुँच पुर्याउने व्यावहारिक र सस्तो साधन ताररहित दूरसंचार नै हो भन्ने कुरा झण्डै एक दशकअघि नै विश्वका विकास चिन्तकहरूले मनन गरिसकेका थिए । नेपालमा दूरुसंचारमा एकाधिकार तोडेर दूरसंचारका धेरै संचालकहरू ल्याउने वातावारण बनाउन अन्तर्राष्ट्रिय निकायहरूले महत्वपूर्ण भूमिका खेलेका थिए । यस्तै काम विश्वका अन्य विकासशील मुलुकहरूमा पनि भएको थियो । फलस्वरूप विकासशील देशहरूमा आमजनताको संचार साधनको रूपमा मोबाइल फोनको विस्फोटक विद्धृ भएको हो । यसलाई अझै व्यापक र अति कम आर्थिक क्षमताका व्यक्तिहरूको पहुँचमा पुर्याउन धेरै संस्थाहरू लागि परेका छन् । अहिलेसम्मको मोबाइल फोनको भूमिका र उपयोगको आधारमा विकासशील देशका नीति निर्माताहरूले यसलाई अझै व्यापक र प्रभावकारी बनाउनका लागि विभिन्न उपायहरू सोच्न थालेका छन् । राज्यहरूमाथि पनि उपयुक्त दूरसंचार नीति, कानुन र कार्यक्रम बनाउन दवाब बढिरहेको छ । यसको लागि नीति र कार्यक्रम बनाउँदा निम्न लिखित बुँदामा ध्यान दिन आवश्यक देखिएको छ ।
लोकतन्त्र र सुशासनका लागिः लोकतन्त्रलाई दिगो र बलियो बनाउने राज्यका हरेककाममा जनताको चासो र सहभागिता हुनु अवश्यक छ जसलाई मोबाइल फोनले संभव बनाउएको छ । मोबाइल फोनले एकातिर सरकारको पहुँच जनतामा बढाएर जनतामाथि निगरानी र नियन्त्रण गर्ने क्षमता बढाएको छ भने अर्कोतिर जनप्रतिनिधिहरू, सरकारी तथा गैरसरकारी निकायहरूको कामप्रति निगरानी गर्ने जनताको क्षमतालाई उल्लेखनीय रूपमा बढाएको छ । नेपालजस्तो विविधतायुक्त समाजमा सबै भाग, क्षेत्र, वर्ग, भाषा आदिका मानिसले एकअर्कासँग निरन्तर कुराकानी र छलफल गर्नु देशको एकता र विकासको लागि अति आवश्यक छ । नयाँ संविधानको निर्माणमा यो झन महत्वपूर्ण छ ।
विकासको गति बढाउनः मोबाइल फोनले कृषक, मजदूर लगायत आमजनताको आर्थिक, सामाजिक, सांस्कृतिक जीवनमा पार्ने समारात्मक प्रभावलाई विचार गर्दा विकासशील देशहरूको विकासका लागि नीति तथा योजना बनाउँदा राज्य, अन्तर्राष्ट्रियदेखि स्थानीयमा कार्यरत गैरसरकारी निकायहरू तथा सहयोगी संस्थाहरूले आफ्नो नीति, योजना तथा कार्यक्रममा मोबाइल फोनको प्रवर्द्धनलाई ध्यानमा राख्नु, र यसको सदुपयोगका लागि उपयुक्त नीति, योजना र कार्यक्रम बनाउनु आवश्यक छ ।
मोबाइल फोन केन्द्रित दूरसंचार नीतिः मोबाइल फोनले मानव समाजमा यति थोरै समयमा जुन व्यापक प्रभाव पारेको छ र परिवर्तन ल्याउँदैछ त्यो स्तरको प्रभाव अरू कुनै आविष्कारले पार्नसकेको छैन । भविष्यमा यसले अझै विविध र व्यापक भूमिका खेल्न थाल्नेछ । यसैले राज्यले दूरसंचार नीति र कार्यक्रम बनाउँदा परम्परागत तारयुक्त टेलिफोनमा तुलनामा ताररहित फोनमा बढी जोड दिनु जरुरी छ ।
मोबाइल फोन र टेलिसेन्टरः इन्टरनेट, इमेल र सरकार तथा विभिन्न निकायहरूले प्रदान गर्ने सेवा र अवसरहरू र अन्य विभिन्न प्रकारका सेवा उपलब्ध गराउने काममा मोबाइल फोनको क्षमता बढ्दै गएपछि बहुचर्चित ग्रामीण सूचना केन्द्र -टेलिसेन्टर) को अवधारणा ओझेलमा पार्न थालको देखिँदैछ । टेलिसेन्टरमा गरिने ठूलो लगानीलाई मोबाइल फोनको सुविधा बढाउने काममा लगाउन दवाब बढ्ने सम्भावना छ ।
साधन एक काम अनेकः गोजीमा अटाउने मोबाइल फोनमा यसका कल्पनाशील निर्माताहरूले दिनदिनै नयाँनयाँ काम थपिरहेका छन् । यसले कुराकानी मात्रै गराउँदैन रेडियो, स्टिल र भिडियो क्यामेरा, टेपरर्ेकर्डर, डायरी, डायरेक्टरी, इमेल, इन्टरनेट आदि धेरै काम गर्न थालेको छ । यसको आकार सानो, चलाउन सजिलो र मोल पनि सस्तो हुँदै गएको हुनाले बेग्लाबेग्लै रेडियो, क्यामेरा, टेपरर्ेकर्डर, कम्प्युटर आदि किन्नु भन्दा यो धेरै सस्तो र सजिलो पनि छ । यसैले मोबाइल फोनको लोकप्रियता दिनदिनै बढिरहेको छ । यसलाई अझै सस्तो र गुणस्तरीय बनाउनका लागि ठोस कार्यक्रम हुनुपर्छ ।
नेपालमा मोबाइल फोन आममानिसको हातहातमा पुर्याउन तत्काल केही काम गर्नु आवश्यक छ । पहिलो काम विभिन्न सेवा प्रदायकहरूको फोनबीच सर्म्पर्क गर्दा लाग्ने असमान महसुल घटाउनु पर्छ । प्रिपेड र पोस्टपेडका महसुल एउटै हुनुपर्छ । देशभरि लोकल कल हुनुपर्छ र सबै करसहित रु. एकभन्दा धेरै महसुल लाग्नु हुँदैन । ग्राहकले मागेको चौबिस घण्टाभित्र ग्राहकले चाहेको प्रविधिको फोन सेवा उपलब्ध गराउनु पर्छ । सबै टेलिफोन सेवा प्रदायकहरूबीच समानताको आधारमा प्रतिस्पर्धाको वातवावरण बनाइनु पर्छ ।
आगामी केही वर्षविश्वका मध्यम तथा निम्न आयका परिवारको लोकप्रिय संचार साधनको रूपमा मोबाइल फोनको वर्चश्व कायम रहने देखिन्छ । यसले लोकतन्त्र र विकासलाई अघिबढाउन र मानिसको आर्थिक, सामाजिक र राजनीतिक स्तर र हैसियत बढाउन महत्वपूर्ण भूमिका खेल्नेछ । यसका लागि राज्यले अनुकूल वातावरण नबनाई सुखै छैन ।
साँचल, सानेपा
२०६४ चैत २९ गते शुक्रबार
गोरखापत्र दैनिक, २०६५।०१।०१ प्रकाशित
Back |